‘यति धेरै जग्गाजमिन बाँझो भयो, गाउँभरिका घर रित्तिए, दुःख पर्दा साथ दिने छिमेकी पनि छैनन्,’ बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका ७२ वर्षीय तिलबहादुर कँडेल भक्कानिँदै भन्छन्।
कँडेललाई अचेल गाउँमा बस्नु नै एक्लोपन बनेको छ। छरछिमेकी सबै सहरतिर झरेपछि कुनै बेला गुल्जार रहेको कर्लिम गाउँ अहिले सुनसान छ। एक–दुई घरमा मात्र मानिस देखिन्छन्। रोगपिर्का लाग्दा अस्पताल पुर्याउने मान्छे पनि नभेटिने अवस्थाले उनलाई झनै पीडा बढाएको छ।
‘गाउँभर झाडी फैलिँदै गएको छ, वन्यजन्तु घरसम्म आइपुग्छन्,’ उनी भन्छन्, ‘अब गाउँमा राति हिँडडुल गर्न पनि डर लाग्छ।’
स्थानीय मैना सुवेदीले पनि गाउँ उजाडिँदै गएको पीडा सुनाइन्। उनका अनुसार, युवाशक्ति नहुँदा खेतबारी बाँझिएका छन्, जनसंख्या घट्दै जाँदा गाउँमा दुःखसुख साट्ने मान्छे पनि भेटिँदैन। ‘एक दशकअघि यहाँ रमाइलो थियो, तर अहिले गाउँ नै उराठिलो भएको छ,’ सुवेदी भन्छिन्।
उनी राज्यलाई बसाइँसराइ व्यवस्थापन गर्न आग्रह गर्छिन्। ‘घर खाली राख्न नपाइने नीति आउनुपर्छ। सबै धनीमानी सहर बजारतिर झरे, विदेश गए। गाउँमा भने बाँझो जमिन र सुनसान बस्ती मात्रै बाँकी छ,’ सुवेदीको गुनासो छ।
काठेखोला गाउँपालिका मात्र होइन, जिल्लाका धेरै बस्ती यस्तै हालतमा छन्। यहाँका अधिकांश युवा जापान, कोरिया र अष्ट्रेलियातिर छन्। उनीहरूको परिवार भने बागलुङ बजार, पोखरा, काठमाडौं र चितवनतिर स्थायी बसाइँसराइ गरिसकेका छन्।
गाउँपालिकाका अध्यक्ष राजु थापाले यो समस्या चिर्न प्रयास भइरहेको बताउँछन्। ‘हामीले नागरिकलाई गाउँमै सीप, प्रविधि र उद्यमसँग जोड्ने कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘तर अहिले पनि बसाइँसराइ रोक्न चुनौतीपूर्ण छ।’
काठेखोलामा जनसङ्ख्या घट्दै जाँदा खेतबारी बाँझिँदै छन्, गाउँ सुनसान हुँदै छन् र परम्परागत जीवनशैली हराउँदै छ। गाउँलेहरू भन्छन्, यदि राज्यले तुरुन्तै प्रभावकारी नीति नल्याए, काठेखोलाजस्ता गाउँहरू चाँडै इतिहासका पानामा मात्र सीमित हुनेछन्।
प्रतिक्रिया