ऊर्जा मन्त्री कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद सुमना श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अभियान्ता सुदन गुरुङबीच केही समयदेखि चलिरहेको राजनीतिक सहकार्य अन्ततः टुटेको छ।
यी चार जना नेताहरू नयाँ राजनीतिक दल गठनको तयारीमा सक्रिय रहे पनि, आन्तरिक मतभेदका कारण सोमबारदेखि उनीहरूको साझा यात्रामा पूर्णविराम लागेको स्रोतले जनाएको छ।
एकीकृत दल गठनको प्रारम्भिक सहमति भए पनि पार्टीको नाम, नीति–दिशा र नेतृत्व संरचनाका विषयमा मतभेद तीव्र बन्दै गएपछि समूह विभाजनमा पुगेको बताइन्छ।
स्रोतका अनुसार, घिसिङ पक्षले आफ्नो अडान नछोडेपछि सुमना, बालेन र सुदनले छुट्टै बाटो समात्ने निर्णय गरे। घिसिङ पक्षले “उज्यालो नेपाल” नाममा दल दर्ता गर्ने तयारी गरिरहेको छ भने सुमना–बालेन–सुदन समूहले पनि मंगलबार नै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेको छ।
जेन–जी अभियान्ता सुदन गुरुङ निकट स्रोतका अनुसार, एकता सम्भव बनाउन धेरै प्रयास भए पनि अन्ततः सहमति जुटेन।
“तत्कालका लागि कुलमान दाइसँगको एकता टुटेको हो,” स्रोतले भन्यो, “हामीले सकभर मिलेर जान खोज्यौं, तर उहाँले जेन–जीभन्दा बाहिरका व्यक्तिहरूको कुरा बढी सुन्नुभयो।”
सुमना, बालेन र सुदनले गठन गर्न लागेको दलमा जेन–जी आन्दोलनका सहिद परिवार वा घाइते अभियानकर्मीलाई नेतृत्वमा अघि सार्ने तयारी भइरहेको छ।
पूर्व सांसद श्रेष्ठ निकट स्रोतका अनुसार, तीन नेताहरूबीच “आन्दोलनबाट घाइते भएका व्यक्ति वा सहिद परिवारका प्रतिनिधिलाई नेतृत्वको भूमिकामा राख्ने” सहमति भएको छ।
“नयाँ दलको नेतृत्व जेन–जी पुस्ताकै हुनेछ,” स्रोतले भन्यो, “यदि अन्तिम घडीमा कुनै नाटकीय परिवर्तन भएन भने भोलि (मङ्गलबार) दल दर्ता हुन्छ।”
नयाँ दलको नाम र चुनाव चिन्ह हालसम्म टुङ्गो लाग्न बाँकी छ। तर, सम्भावित नाममा प्रगतिशील समूह, नव पुस्ता समूह लगायतका विकल्पबारे छलफल भइरहेको छ। केही नेताहरूले “लौरो” चिन्हको प्रस्ताव पनि अघि सारेका छन्।
कलाकारदेखि जेन–जी अभियान्तासम्म
सुमना–बालेन–सुदन समूहको नयाँ दलमा जेन–जी आन्दोलनका सहभागी, सहिद परिवारका सदस्य, तथा चर्चित युवा अनुहारहरू पनि समेटिने तयारी छ।
स्रोतका अनुसार, निश्चल बस्नेत, रिमा विश्वकर्मा, रिचा शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्की लगायतका व्यक्तिहरूले पनि नयाँ दललाई समर्थन जनाउने संकेत दिएका छन्।
यस्तै, जेन–जी कोशी प्रदेश संयोजक उपार्जुङ राई पनि यो समूहमा जोडिने सम्भावना रहेको बुझिएको छ। हाल नेताहरूबीच अन्तिम छलफल तीव्र गतिमा भइरहेको स्रोतले जनाएको छ।
यसरी, एउटै उद्देश्य लिएर सुरु भएको सहकार्य दुई फरक बाटोमा विभाजित भए पनि, दुवै समूहले “नयाँ पुस्ता र पारदर्शी राजनीति” लाई आफ्नो मूल एजेन्डा बनाइराखेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, आगामी दिनमा यी दुई समूहबीच प्रतिस्पर्धा मात्र होइन, पुनः सहकार्यको सम्भावनालाई पनि नकार्न सकिँदैन।
प्रतिक्रिया