-अम्मर खत्री
रुकुम पूर्व — सिस्ने गाउँपालिका–३ पाङ्गामा परम्परागत रुपमा लाग्दै आएको बागेधारा मेला आजदेखि सुरु भएको छ । विगत तीन वर्षयता निरन्तर रूपमा खेलकुद प्रतियोगिता समेत सञ्चालन हुँदै आएको यो मेलाले यसपटक पनि स्थानीय युवाहरुमा उत्साह थपेको छ ।
मेलाको अवसरमा रामाजैसी मन्दिरको प्राङ्गणमा वडास्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता र रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको छ ।
मेला तथा खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष रेग्मिले यस्ता परम्परागत मेलाले संस्कृति, परम्परा र सामुदायिक एकता जगेर्नामा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
बागेधारा खेलकुद समितिका अध्यक्ष केशव खत्रीका अनुसार पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले रु. १ लाख नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुने टोलीले रु. ७० हजार, तेस्रो हुनेले रु. ४० हजार र सान्त्वना स्थान हासिल गर्ने टोलीले रु. २० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
महिला भलिबल प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. २५ हजार, दोस्रो हुनेलाई रु. २० हजार, र तेस्रो हुनेलाई रु. १५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
रस्साकस्सी प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई रु. २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ पुरस्कार दिइनेछ । साथै, मेलामा सहभागी सबै झाँकी समूहहरूलाई रु. ५/५ हजार का दरले सहयोग रकम प्रदान गरिने समितिले जनाएको छ ।
आजबाट सुरु भएको मेला मंसिर २० गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोह बागेधारा खेलकुद समितिका अध्यक्ष केशव खत्रीको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा सिस्ने गाउँपालिकाका प्रमुख कृष्ण रेग्मी प्रमुख अतिथि, उपाध्यक्ष गोपाल रेउले विशेष अतिथि रहनु भएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति सदस्य लालजित बुढा, वडा नं. ३ का अध्यक्ष हेराम खड्का, वडा नं. ७ का अध्यक्ष शशिधर बुढा, वडा नं. ८ का अध्यक्ष गोपाल पुन, कार्यपालिका सदस्य मीना केसी, वडा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय झाँकी समूह र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन अम्मर खत्रीले गर्नुभएको थियो ।



प्रतिक्रिया