logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    बागेधारा मेला सम्पन्न : खेलकुद र संस्कृतिको संगम बन्यो पाङ्गा

    बागेधारा मेला सम्पन्न : खेलकुद र संस्कृतिको संगम बन्यो पाङ्गा

    रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पाङ्गामा परम्परागत रूपमा लाग्दै आएको बागेधारा मेला आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय परम्परा, कला–संस्कृति र खेलकुदलाई एकैसाथ प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन भएको मेलामा रुकुम पूर्व र रुकुम पश्चिमका करिब ३० सांस्कृतिक समूहले आफ्ना नाचगान र प्रस्तुति प्रदर्शन गरेका थिए। सिङारू, पैसेरू, मयुरलगायतका सांस्कृतिक नृत्यहरूले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए।

    कात्तिक १५ गतेदेखि सुरु भएको मेला आज २१ गते सम्पन्न भएको हो। मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिताले पनि स्थानीय युवामा उत्साह थपेको थियो।

    पुरुष भलिबलतर्फ सानोभेरी गाउँपालिका–४ (रुकुम पश्चिम) प्रथम भएको छ। दोस्रो स्थान सानोभेरी गाउँपालिका–३ र तेस्रो स्थान सिस्ने गाउँपालिका–६ ले हासिल गरेका छन्। सान्त्वना पुरस्कार सिस्ने–३ ले प्राप्त गरेको आयोजक समितिले जनाएको छ।
    विजेताहरूमध्ये प्रथम टोलीले १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय टोलीले ७० हजार, तृतीयले ४० हजार र सान्त्वना टोलीले २० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र पाएका छन्।

    महिला भलिबलतर्फ सिस्ने–४ विजेता बन्न सफल भएको छ। सिस्ने–८ दोस्रो र बाफिकोट–२ तेस्रो स्थानमा रहेका छन्। प्रथमले २५ हजार रुपैयाँ, द्वितीयले २० हजार रुपैयाँ, र तृतीयले १५ हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

    बागेधारा खेलकुद समितिका अध्यक्ष केशव खत्रीका अनुसार, मेलाले स्थानीय कला, संस्कृति र खेलकुद विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ। उनले भने, “मेलाले नयाँ पुस्तामा खेलप्रति आकर्षण र संस्कृतिप्रति गर्वको भावना जगाएको छ।”

    मेलाको समापन समारोहमा सिस्ने–३ का वडाध्यक्ष हेराम खड्का, मेला व्यवस्थापन समिति अध्यक्ष डिलबहादुर खड्का, सौजन्य आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दाराम लामिछाने, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो।
    कार्यक्रमको सञ्चालन अम्मर खत्रीले गर्नुभएको थियो।

    👉 संक्षेपमा

    • मेला अवधिः कात्तिक १५–२१
    • सहभागी सांस्कृतिक समूहः ३०
    • पुरुष भलिबल विजेता: सानोभेरी–४
    • महिला भलिबल विजेता: सिस्ने–४
    • कुल नगद पुरस्कारः करिब ३ लाख रुपैयाँ

    मेला सिस्ने क्षेत्रको सांस्कृतिक पहिचान र सामुदायिक एकताको प्रतीकका रूपमा सम्पन्न भएको बताइएको छ।



    nayapana nayapana    
  • २२ कार्तिक २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP