logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    चौंरी खर्कमा फूलेका बुकीफूल: प्राकृतिक स्वर्गमा आन्तरिक पर्यटकको घुइँचो

    • nayapana nayapana
    • २९ असार २०८२ आईतवार
    चौंरी खर्कमा फूलेका बुकीफूल: प्राकृतिक स्वर्गमा आन्तरिक पर्यटकको घुइँचो

    रुकुमपूर्वको उच्च पहाडी क्षेत्र चौंरी खर्क यतिबेला प्राकृतिक स्वर्ग जस्तै देखिएको छ। समुद्री सतहबाट झण्डै ४ हजार मिटर उचाइमा अवस्थित यो खर्क अहिले रंगीन बुकीफूलहरू फुल्दै गर्दा सौन्दर्यले भरिएको छ।

    घाम लागेको दिन पुथा, धौलासिरी, चुरेन र सिस्ने लगायतका हिमालहरू आँखै अगाडि देख्न पाइन्छ भने बेसीतिर नागबेलीझैँ बग्ने उत्तरगंगा नदी, निसेलधोर र नेपथ्यमा फैलिएको ढोरपाटन भ्यालीले पर्यटकहरूलाई मोहनी लगाउँछ। हरियाली बुट्यानमाथि छरिएका ती रंगीबिरंगी फूलहरूबीच चरिरहेका गाईगोरु, भेडाबाख्रा र घोडाहरूको दृश्य झनै मनमोहक देखिन्छ।

    गाउँबाट हप्ता दिनको यात्रा गरेर उकालो चढ्दै आएका गाईगोरु अहिले चौंरी खर्कको चिसो हावामा रमाइरहेका छन्। कतै गोरेटो पछ्याउँदै, कतै कुहिरोमा हराउँदै उनीहरू प्रकृतिसँग घुलमिल भएका छन्। हिउँदमा सेतो हिउँले ढाकिने यी डाँडाहरू अहिले भने हरियो बुट्यान र खुला मैदानले सुशोभित छन्। यहाँ किसानका पाइला र चौपायाको चरन मिलेर बनेको जीवन्त खर्क देख्न सकिन्छ।

    चौंरी खर्क पुग्नका लागि रुकुम पूर्व र बागलुङको सिमास्थल पाथीहाल्नेमा रहेको मध्यपहाडी लोकमार्गबाट करिब तीन घण्टा पैदल यात्रा गर्नुपर्छ।

    अहिले यहाँ फूलेका रंगीन बुकीफूलहरूको अवलोकन गर्न रुकुम, रोल्पा, बागलुङ लगायत आसपासका जिल्लाबाट आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। सामाजिक सञ्जालमा फैलिएका तस्वीर र भिडियोहरूले यो ठाउँ थप चर्चामा आएको छ।

    स्थानीयको भनाइ अनुसार, चौंरी खर्कको प्राकृतिक सौन्दर्य संरक्षण गर्दै पर्यटकीय प्रवर्द्धन गरियो भने यो ठाउँ निकट भविष्यमा पर्यटकका लागि प्रमुख गन्तव्य बन्न सक्छ।

    फाेटाे: दिलचन पुन/सिर्जना सिज्जु



    nayapana nayapana    
  • २९ असार २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP