नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले दिएको प्रतिक्रियामाथि नेकपा सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष विराज थापाले राजनीतिक संस्कार, मर्यादा र जिम्मेवारीको प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी सार्वजनिक गर्दै थापाले कुनै पनि राजनीतिक दलको महाधिवेशनलाई केवल आन्तरिक सांगठनिक प्रक्रिया मात्र नभई सम्बन्धित दलको राजनीतिक पर्व र लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसर का रूपमा बुझ्नुपर्ने बताएका छन्।
उनले महाधिवेशनमा देशभरबाट निर्वाचित प्रतिनिधिहरू एकै ठाउँमा भेला भएर पार्टीको विगतको समीक्षा, वर्तमानको मूल्याङ्कन तथा भविष्यको नीति, कार्यक्रम र नेतृत्वबारे बहस गर्ने भएकाले यसको प्रभाव पार्टीको संगठनभित्र मात्र सीमित नहुने तर्क गरेका छन्।
थापाले राजनीतिक दलहरूबीच विचार र नीतिगत प्रतिस्पर्धा स्वाभाविक भए पनि अर्को दलको महाधिवेशनप्रति शुभेच्छा, बधाई तथा सफलताको कामना व्यक्त गर्नु लोकतान्त्रिक राजनीतिक संस्कार र सामान्य शिष्टाचार भएको बताएका छन्।
“विचार र राजनीतिक प्रतिस्पर्धा आफ्ना ठाउँमा हुन्छन्, तर लोकतान्त्रिक व्यवस्थामा राजनीतिक असहमति व्यक्त गर्ने क्रममा समेत न्यूनतम मर्यादा र संस्कार कायम रहनुपर्छ,” उनले लेखेका छन्।
विशेषगरी प्रधानमन्त्रीजस्तो राज्यको कार्यकारी नेतृत्वमा रहेको व्यक्तिबाट प्रमुख राजनीतिक दलको महाधिवेशनबारे व्यक्त हुने धारणा अझ जिम्मेवार, संयमित र मर्यादित हुनुपर्ने थापाको भनाइ छ।
उनले प्रधानमन्त्री कुनै एउटा राजनीतिक दल वा समूहको मात्र नेता नभई राज्यको कार्यकारी नेतृत्व गर्ने व्यक्ति भएकाले राजनीतिक प्रतिस्पर्धाका क्रममा पनि संस्थागत मर्यादा, लोकतान्त्रिक संस्कार र राजनीतिक शिष्टता कायम राख्नुपर्ने बताएका छन्।
थापाले आलोचना लोकतन्त्रको स्वाभाविक पक्ष भए पनि आलोचनाका नाममा अर्को राजनीतिक दलको लोकतान्त्रिक अभ्यास वा राजनीतिक पर्वप्रति उपहास तथा अवमूल्यन गर्ने प्रवृत्तिले स्वस्थ राजनीतिक संस्कारलाई बलियो नबनाउने टिप्पणी गरेका छन्।
उनको टिप्पणीको सबैभन्दा चर्चित अंशमा भनिएको छ—
“पद ठूलो हुँदैमा राजनीतिक चेत ठूलो हुँदैन। बरु ठूलो पदमा पुगेपछि व्यक्तिमा राजनीतिक चेत, लोकतान्त्रिक संस्कार, संयम र जिम्मेवारी झन् बढी अपेक्षित हुन्छ।”
थापाले राजनीतिक पद र राजनीतिक चेतबीचको अन्तरलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्दै “राजनीतिक चेत र संस्कारविहीन पद केवल बोकाको मुखमा कुबिण्डोजस्तै हुन्छ” भन्दै आफ्नो धारणा टुंग्याएका छन्।
उनको यो टिप्पणी कांग्रेस महाधिवेशन र प्रधानमन्त्री शाहको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा चलिरहेको बहसमा थपिएको राजनीतिक अभिव्यक्तिका रूपमा आएको हो।
“चेतना भयाँ।”
प्रतिक्रिया