प्रकाशचन्द्र खतिवडा
रगतले पोतिएको इतिहास
–प्रकाशचन्द्र खतिवडा
पढाइयोस विद्यालयहरुमा
इतिहासका काला काल खण्डहरु
विद्यार्थीहरु व्युँझन सकून
नरसंहारकारीहरुको ताण्डव नृत्य हेर्नलाई
लेखिएन जीवन्त कथा
जीवन उत्सर्गीत गर्ने शहीदहरुको ।
बेमौसमी बाजा बजाएर
अज्ञात समय हुँइकि जान्छ
मान्छे समय संग बहन नसके पछि
इतिहास तुहिएर जान्छ
म च्याति रहेछु इतिहास
श्री ३ जङ्गबहादुर राणाको ।
मान्छेहरुमा बेचैनि बढेको छ
भरोसा टुटेको छ
जीवनका अन्त्यहीन कथाहरु
लेखिनु पर्थ्यो इतिहासमा
लेखिएन अन्त्यहीन कथा
लेखियो केवल मृत्युको कथा ।
म सानो छँदा
मेरी हजुरआमा मलाई पढाउनु हुन्थ्यो इतिहास
हजुरआमा आफ्ैलाई थाहै भएन
आफ्नै आयु नापिरहेको ज्युँदो इतिहास
हजुरबुबाको मृत्यु पछि
आफैले भोगेको अत्याशिलो जिन्दगीको इतिहास ।
मैले पढ्नु छैन
राष्ट्रघातिहरुको इतिहास
मैले लेख्नु छैन
निरङकुशहरुको इतिहास
म आगोको पुलिन्दा बोकेर
डढाउने छु कायरहरुको इतिहास ।
मान्छेहरुको मौनता
पराजयको संकेत हैन
मौनता भित्र सुषुप्त विद्रोह लुकेको हुन्छ
म लेख्छु विद्रोहको इतिहास
च्याति दिन्छु असंवैधानिक संविधान
अनि पढाउँछु स्वतन्त्रताको इतिहास ।
सुकिला मुकिला विधायकहरु
इतिहास कुल्चि रहेछन
आफ्नो जिम्मेवारी भुल्दै
सदनमा लेखाउँदैनन देश भक्तहरुको इतिहास
सुस्ता रोइ रह्यो
विधायकहरु सदनमा अनपेक्षित ताली ठोक्दै बसे ।
मैले लेख्नै पर्छ
विसे नगर्चीको कथा
मैले गाउँनै पर्छ
लखन थापाको गीत
इतिहास मरि सक्यो
लेख्नै छ नयाँ इतिहास
रगतले पोतिएको
पसिनाले सिंचिएको ।
प्रतिक्रिया