logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    प्रचण्डको निर्वाचन क्षेत्रमा नेकपा शक्ति संघर्ष : खावाङ बगरमा समानान्तर बैठक

    • nayapana nayapana
    • ११ श्रावण २०८३ सोमबार
    प्रचण्डको निर्वाचन क्षेत्रमा नेकपा शक्ति संघर्ष : खावाङ बगरमा समानान्तर बैठक

    नेकपाका संयोजक प्रचण्डको निर्वाचन क्षेत्र तथा तत्कालीन जनयुद्धको राजनीतिक आधारभूमि मानिने रुकुम पूर्वमा पार्टीभित्रको आन्तरिक विवाद सतहमा आएको छ।

    जिम्मेवारी बाँडफाँड र शक्ति सन्तुलनलाई लिएर लामो समयदेखि देखिएको असन्तुष्टि अहिले समानान्तर गतिविधिसम्म पुगेको छ। माओवादी आन्दोलनको ऐतिहासिक केन्द्र मानिने यस जिल्लामा देखिएको विवादलाई सामान्य सांगठनिक असन्तुष्टिका रूपमा मात्र नभई पार्टीभित्रको नेतृत्व, प्रभाव क्षेत्र र आगामी राजनीतिक दिशाको प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ।

    शनिबार खावाङ बगरमा असन्तुष्ट पक्षले आयोजना गरेको छुट्टै बैठकले जिल्लाको नेकपा राजनीतिमा नयाँ तरंग ल्याएको छ। बैठकमा केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’, होमप्रकाश श्रेष्ठ ‘हिमाल’, पुनिराज घर्ती, रवि बुढासहित सिस्ने गाउँपालिका कमिटी अध्यक्ष मन्सराम खड्का ‘भिक्टर’, पुथाउत्तरगंगा गाउँपालिका कमिटी अध्यक्ष संगम रोका ‘विकल्प’ र भूमे गाउँपालिका कमिटी अध्यक्ष दीपक पुनलगायतका नेताहरू सहभागी भएका थिए। बैठकलाई असन्तुष्ट पक्षले शक्ति परीक्षण र आगामी रणनीति निर्माणको प्रयासका रूपमा लिएको देखिन्छ। स्रोतका अनुसार समानान्तर जिल्ला संरचना निर्माणबारे समेत छलफल भएको थियो। तर अपेक्षित संख्यामा नेता–कार्यकर्ता उपस्थित हुन नसकेपछि तत्काल समानान्तर समिति घोषणा हुन सकेन। यसले असन्तुष्ट पक्षले संगठनात्मक आधार विस्तार गर्नुपर्ने चुनौती रहेको संकेत गरेको छ।

    समानान्तर गतिविधिमा सक्रिय समूहलाई नेता पूर्णबहादुर घर्तीको संरक्षण रहेको बताइन्छ। वाइसिएल नेपालका पूर्व अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य सुबोध सेर्पाली पनि यही धारसँग नजिक रहेको स्रोतको दाबी छ। यता संस्थापन पक्षले भने साउन १३ र १४ गते जिल्ला बैठक बोलाएको छ। संस्थापन पक्षले जिल्लाका करिब ९० प्रतिशत नेता–कार्यकर्ता पार्टीको आधिकारिक लाइनमा रहेको दाबी गर्दै आएको छ।

    रुकुम पूर्वका तीनवटै स्थानीय तहमा नेकपाले नेतृत्व जितेको भए पनि अहिलेको विवादमा जनप्रतिनिधिको धार एउटै छैन। भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ ‘हिमाल’ र पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती असन्तुष्ट पक्षमा छन् भने सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी संस्थापन पक्षमा छन्। तर पार्टी संगठनतर्फ हेर्दा तीनवटै पालिका कमिटी अध्यक्ष असन्तुष्ट पक्षसँग रहेको बताइएको छ। सिस्नेका मन्सराम खड्का ‘भिक्टर’, भूमेका दीपक पुन र पुथाउत्तरगंगाका संगम रोका ‘विकल्प’ असन्तुष्ट धारसँग नजिक छन्। यद्यपि तीनवटै पालिकाका पार्टी इञ्चार्ज भने संस्थापन पक्षमा छन्। सिस्नेका धनमान पुन, भूमेका ध्रुव विक्रम ओली र पुथाउत्तरगंगाका इञ्चार्जहरू संस्थापन पक्षसँग रहेको बताइएको छ। यसले रुकुम पूर्वमा निर्वाचित नेतृत्व, संगठनात्मक संरचना र पार्टीको औपचारिक कमाण्डबीच शक्ति सन्तुलन फरक–फरक दिशामा रहेको देखाउँछ।

    रुकुम पूर्वको नेकपा राजनीति अहिले तीन प्रमुख गुटको प्रभावमा रहेको विश्लेषण गरिन्छ। जिल्ला इञ्चार्ज तेजबहादुर ओली ‘प्रतिक’ समूह, गणेशमान पुन समूह र पूर्णबहादुर घर्ती समूह जिल्लाका मुख्य शक्ति केन्द्र हुन्। संगठनात्मक प्रभाव र राजनीतिक पहुँचका हिसाबले बलिया मानिएका तेजबहादुर ओली ‘प्रतिक’ समूह र गणेशमान पुन समूह पार्टीको आधिकारिक संस्थापन पक्षमा उभिएका छन् भने पूर्णबहादुर घर्ती समूह असन्तुष्ट धारको मुख्य आधार बनेको देखिन्छ। यी गुटहरू केन्द्रका प्रभावशाली नेताहरूसँग समेत जोडिएका छन्। तेजबहादुर ओली ‘प्रतिक’ समूह नेता वर्षमान पुन निकट मानिन्छ भने गणेशमान पुन समूह शक्ति बस्नेत निकट रहेको चर्चा छ। पूर्णबहादुर घर्ती समूह भने देव गुरुङ तथा पूर्व नेता जनार्दन शर्मा निकट रहेको राजनीतिक वृत्तमा विश्लेषण गरिन्छ। यस अर्थमा रुकुम पूर्वको विवाद स्थानीय नेतृत्वको प्रतिस्पर्धामात्र नभई केन्द्रका शक्ति समीकरणको स्थानीय अभिव्यक्तिसमेत हो।

    असन्तुष्ट पक्षमा रहेका अधिकांश नेता माओवादी आन्दोलनको पुरानो पृष्ठभूमिबाट आएका भए पनि उनीहरूको राजनीतिक यात्रा फरक–फरक धार हुँदै अघि बढेको छ। जितमान पुन ‘मार्शल’ बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा सक्रिय रहेपछि पुनः प्रचण्ड नेतृत्वको पार्टीमा फर्किएका थिए। होमप्रकाश श्रेष्ठ ‘हिमाल’ लामो समय राजनीतिक निष्क्रियतापछि पुनः सक्रिय भएका हुन्। पुनिराज घर्ती र रवि बुढा एमाले हुँदै पुनः माओवादी राजनीतिमा फर्किएका नेताका रूपमा चिनिन्छन्। पूर्णबहादुर घर्ती भने तत्कालीन माओवादी विभाजनका क्रममा मोहन वैद्य ‘किरण’ नेतृत्वको धारमा लागेका थिए। फरक–फरक राजनीतिक यात्राबाट आएका यी नेताहरू अहिले एउटै समूहमा देखिनुले जिल्लामा पुराना माओवादी धारहरूको पुनः समीकरण निर्माण भइरहेको संकेत गरेको छ।

    रुकुम पूर्वको शक्ति सन्तुलनमा तत्कालीन समाजवादी धारको भूमिका पनि महत्वपूर्ण देखिएको छ। स्रोतका अनुसार तत्कालीन समाजवादी पक्ष अहिले पार्टी संस्थापन पक्षसँग उभिएको छ। यसले संस्थापन पक्षलाई थप संगठनात्मक आधार दिएको छ। समाजवादी धारको समर्थनले जिल्लाको विवादलाई केवल पुराना माओवादी समूहबीचको प्रतिस्पर्धामा सीमित नराखी पार्टी एकीकरणपछि बनेका विभिन्न राजनीतिक धारबीचको शक्ति सन्तुलनको विषय बनाएको छ।

    समग्रमा हेर्दा रुकुम पूर्वको नेकपा विवाद अहिले संगठनमाथिको नियन्त्रण, स्थानीय प्रभाव र केन्द्रसँग जोडिएको गुटीय समीकरणको त्रिकोणमा अघि बढिरहेको छ। संस्थापन पक्षसँग औपचारिक संरचना, दुई प्रभावशाली जिल्ला गुट र समाजवादी धारको समर्थन रहेको दाबी छ भने असन्तुष्ट पक्षसँग केही प्रभावशाली नेता, पालिका संगठन र निर्वाचित जनप्रतिनिधिको साथ देखिन्छ। समानान्तर समिति गठन गर्न नसक्नुले असन्तुष्ट पक्षको संगठनात्मक चुनौती देखाए पनि उनीहरूको गतिविधिले पार्टीभित्रको असन्तुष्टि गहिरो रहेको स्पष्ट पारेको छ।

    जनयुद्धको आधारभूमि र प्रचण्डको निर्वाचन क्षेत्र भएकाले रुकुम पूर्वको राजनीतिक घटनाक्रमले स्थानीय सीमाभन्दा बाहिर महत्व राख्छ। आगामी जिल्ला बैठक, नेतृत्वबीचको संवाद र संगठनात्मक निर्णयले विवाद सहमतितर्फ जाने हो वा थप ध्रुवीकरणतर्फ भन्ने निर्धारण गर्नेछ। यदि विवाद व्यवस्थापन हुन सकेन भने रुकुम पूर्वमा सुरु भएको शक्ति संघर्षले नेकपाको केन्द्रीय राजनीतिमा समेत नयाँ समीकरणको बहस जन्माउन सक्ने देखिन्छ।



    nayapana nayapana    
  • ११ श्रावण २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP