logo
  • २० भाद्र २०८३, शनिबार | Sat, 05 Sep 2026
  • Dark Mode

          Subscribe

    दशैँ–तिहारबीच एनपीएलको धमाका, कात्तिक ९ देखि क्रिकेटको महासंग्राम

    • nayapana nayapana
    • २४ श्रावण २०८३ आईतवार
    दशैँ–तिहारबीच एनपीएलको धमाका, कात्तिक ९ देखि क्रिकेटको महासंग्राम

    नेपाली क्रिकेटको सर्वाधिक प्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको मिति तय भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म आयोजना गर्ने घोषणा गरेको हो।

    क्यानका सचिव पारस खड्काले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुनेछ। यससँगै नेपाली क्रिकेटको घरेलु फ्रेन्चाइज लिगको तेस्रो संस्करणका लागि औपचारिक तयारी अघि बढेको छ।

    दशैँ–तिहारबीच एनपीएलको रौनक
    यसअघिका एनपीएलका संस्करणहरू तिहारपछि मङ्सिरमा आयोजना हुँदै आएका थिए। तर यसपटक क्यानले दशैँ र तिहारको बीचको समय रोजेको छ।

    चाडपर्वको मौसममै एनपीएल आयोजना हुने भएपछि यसले प्रतियोगिताको दर्शकीय आकर्षण थप बढाउने अपेक्षा गरिएको छ। क्रिकेटको रोमाञ्चसँगै लामो चाडपर्वको माहोललाई एनपीएलले थप उत्साहपूर्ण बनाउने देखिन्छ।

    तिहारका दुई दिनबाहेक नियमित खेल
    एनपीएलको विस्तृत खेल तालिका भने सार्वजनिक हुन बाँकी छ। क्यान स्रोतका अनुसार तिहारका दुई दिनबाहेक अन्य दिन नियमित रूपमा खेल सञ्चालन गर्ने तयारी भइरहेको छ।

    प्रतियोगिताको खेल तालिका सार्वजनिक भएपछि टोलीहरूको भिडन्त, खेलको समय र मैदानबारे विस्तृत जानकारी आउनेछ।

    अक्सन सकियो, विदेशी खेलाडी भित्र्याउने दौड
    तेस्रो संस्करणका लागि खेलाडी छनोट गर्ने लिलामी प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ। अक्सनमार्फत नेपाली खेलाडी आफ्नो टोलीमा भित्र्याइसकेका फ्रेन्चाइजहरू अहिले विदेशी खेलाडी अनुबन्ध गर्न सक्रिय भएका छन्।

    विदेशी खेलाडीको आगमनले एनपीएलको प्रतिस्पर्धात्मक स्तर बढाउने अपेक्षा गरिएको छ। साथै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीसँग एउटै टोली र मैदानमा खेल्ने अवसर पाउने भएकाले यसले उनीहरूको क्षमता विकासमा समेत योगदान पुर्‍याउनेछ।

    तेस्रो संस्करणसँगै बढ्दै अपेक्षा
    एनपीएलका अघिल्ला दुई संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको लोकप्रियता स्थापित गरिसकेका छन्। दर्शकको बढ्दो आकर्षण, खेलाडीको उत्साह र व्यावसायिक चासोका कारण तेस्रो संस्करणप्रति अपेक्षा अझ उच्च बनेको छ।

    अब क्यान र सहभागी टोलीसामु प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रियस्तरको बनाउने चुनौती छ। खेल तालिका, विदेशी खेलाडीको सहभागिता, मैदान व्यवस्थापन, प्रत्यक्ष प्रसारण तथा दर्शक व्यवस्थापनजस्ता पक्षमा हुने तयारीले एनपीएलको समग्र स्तर निर्धारण गर्नेछ।



    nayapana nayapana    
  • २४ श्रावण २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP