logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    ‘जनताले महसुस गर्ने गरी सेवा प्रवाह र विकासलाई गति दिएका छौँ’

    ‘जनताले महसुस गर्ने गरी सेवा प्रवाह र विकासलाई गति दिएका छौँ’

    सङ्घीयता कार्यान्वयनपछि दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालको एक वर्ष पूरा भएको छ। यो अवधिमा स्थानीय सरकारको काम, सेवा प्रवाह, विकास निर्माण र जनप्रतिनिधिले चुनावका बेला गरेका प्रतिबद्धताको अवस्था मूल्याङ्कन गर्ने समय पनि हो।

    देशमा सङ्घीयतासँगै स्थापना भएको कान्छो जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष गोपाल पुनसँग स्थानीय सरकारको एक वर्षे कार्यसम्पादन, आगामी योजना, युवा नेतृत्व र विकासका प्राथमिकताबारे गरिएको कुराकानी:

    निर्वाचित भएर जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ। यो अवधिमा वडामा भएका मुख्य उपलब्धि के–के हुन् ?
    हामी निर्वाचित भएर आउँदा वडाको आवश्यकता र जनताको प्राथमिकतालाई केन्द्रमा राखेर काम गर्ने योजना बनाएका थियौँ। पहिलो आर्थिक वर्षमा खानेपानीलाई मुख्य प्राथमिकता दियौँ भने दोस्रो वर्षमा शिक्षालाई केन्द्रमा राखेर काम अघि बढाएका छौँ।

    पहिलो वर्ष वडाको कुल बजेटमध्ये करिब ५० प्रतिशत हिस्सा खानेपानी क्षेत्रमा विनियोजन गर्‍यौँ। वडास्तरबाट समाधान गर्न सकिने खानेपानीका योजनालाई प्राथमिकता दिएर काम गरियो। हाम्रो वडामा खानेपानीका स्रोत पर्याप्त छन्, तर ती स्रोतको संरक्षण, व्यवस्थापन र दीर्घकालीन उपयोग आवश्यक भएकाले त्यसतर्फ पनि ध्यान दिएका छौँ।

    दोस्रो आर्थिक वर्षमा शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकता दिएका छौँ। विद्यालयका भौतिक संरचना सुधार, आवश्यक शैक्षिक सामग्री व्यवस्थापन र सिकाइ वातावरण सुधारका लागि करिब ४० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेका छौँ।

    हाम्रो पाँच वर्षे कार्यकालको मुख्य लक्ष्य शिक्षा क्षेत्रको गुणस्तर सुधार र सडक पूर्वाधारको स्तरोन्नति गर्नु हो।

    निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता के थिए ? ती पूरा गर्ने दिशामा कत्तिको अघि बढ्नुभएको छ ?
    निर्वाचनका बेला हामीले सम्भव नहुने ठूला आश्वासन दिएर जनतालाई भ्रमित गर्ने काम गरेनौँ। हामी लामो समयदेखि जनताको बीचमा रहेर काम गर्दै आएका व्यक्ति भएकाले वडा तहको स्रोत, अधिकार र सम्भावनाबारे स्पष्ट थियौँ।

    हाम्रो मुख्य प्रतिबद्धता विकासको आधारका रूपमा रहेको शिक्षा क्षेत्रलाई बलियो बनाउने थियो। मैले वडाध्यक्षका रूपमा प्राप्त गर्ने सुविधालाई समेत शिक्षा क्षेत्रको सुधारमा प्रयोग गर्ने घोषणा गरेको थिएँ र त्यसअनुसार विभिन्न कार्यक्रम अघि बढाएका छौँ।

    हाम्रो प्राथमिकता पहिलो वर्ष खानेपानी, त्यसपछि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा केन्द्रित हुने थियो। एक वर्षको अवधिमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह र विकासका गतिविधि अघि बढाउन सफल भएका छौँ भन्ने विश्वास छ।

    जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आगामी योजना के छन् ?
    अहिले देश आर्थिक चुनौतीको अवस्थामा छ। बजेटको आकार पनि विगतको तुलनामा घटेको छ। यस्तो अवस्थामा जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकता दिएर उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्नुपर्ने अवस्था छ।

    वडा तहबाट सम्भव हुने योजनालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्नेछौँ। ठूला र दीर्घकालीन योजनाका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरेर अघि बढ्नेछौँ।

    शिक्षा क्षेत्रको सुधार हाम्रो मुख्य एजेन्डा हो। त्यसका लागि स्थानीय स्रोतसँगै प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर आवश्यक पहल गर्ने योजना छ।

    युवा वडाध्यक्षका रूपमा पुरानो पुस्ता र अनुभवी नेतृत्वबाट कस्तो सहयोग पाउनुभएको छ ?
    राजनीतिमा पुस्तान्तरण एउटा स्वाभाविक प्रक्रिया हो। नयाँ पुस्ता नेतृत्वमा आउँदा पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा मिल्न सके प्रभावकारी परिणाम आउँछ।

    हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले स्थानीय सरकार सञ्चालनमा आवश्यक सहयोग र मार्गदर्शन गरिरहेको छ। अहिलेको मुख्य उद्देश्य भनेको जनतालाई प्रभावकारी सेवा प्रदान गर्नु हो।

    हामी विधि, प्रक्रिया र कानुनको सीमाभित्र रहेर जनताले महसुस गर्ने गरी काम गर्न प्रतिबद्ध छौँ।

    युवा नेतृत्वका रूपमा तपाईंले के फरक अभ्यास गर्नुभएको छ ?
    वडा तहका अधिकार र जिम्मेवारी कानुनले निर्धारण गरेका हुन्छन्। तर नेतृत्वमा आउने व्यक्तिको सोच, कार्यशैली र प्रविधिको प्रयोगले सेवा प्रवाहमा फरक ल्याउन सक्छ।

    युवा पुस्ता प्रविधिसँग बढी जोडिएको हुन्छ। त्यसैले सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउने प्रयास गरेका छौँ।

    वडाका समस्या सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउने, समन्वय गर्ने र समाधानका लागि निरन्तर पहल गर्ने काम गरेका छौँ। जनप्रतिनिधिको भूमिका भनेको जनताका समस्या उठाउने र समाधानका लागि सहजीकरण गर्ने हो।

    कतिपय ठाउँमा कर्मचारी र जनप्रतिनिधिबीच असहयोगको अवस्था देखिन्छ। तपाईंको वडामा अवस्था कस्तो छ ?
    जनप्रतिनिधि र कर्मचारी दुवैको साझा उद्देश्य जनताको सेवा गर्नु हो। त्यसैले आपसी सहकार्य र समन्वय आवश्यक हुन्छ।

    कतिपय ठाउँमा देखिएका मतभेदले सेवा प्रवाह प्रभावित हुन सक्छ, जुन राम्रो होइन। हाम्रो वडामा त्यस्तो समस्या छैन। कानुनी प्रक्रिया पूरा गर्दै जनताको काम सहज बनाउने हाम्रो प्रयास छ।

    जनप्रतिनिधि र कर्मचारी दुवैमा केही गर्ने इच्छाशक्ति भएको टिम भएकाले समन्वयमा काम भइरहेको छ।

    तपाईं आफैँ वैदेशिक रोजगारीका क्रममा कोरिया बसेको अनुभव छ। नेपालमा बढ्दो बेरोजगारी समाधानमा वडा तहको भूमिका के हुन सक्छ ?
    बेरोजगारी देशकै ठूलो चुनौती हो। यसको समाधान वडा सरकारले मात्र गर्न सक्दैन। यसका लागि संघीय सरकारले स्पष्ट नीति बनाएर रोजगारीका आधार सिर्जना गर्नुपर्छ।

    राज्यले उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिनुपर्छ। कृषि, पर्यटनलगायत नेपालका सम्भावनायुक्त क्षेत्रमा युवालाई जोड्न सके रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ।

    युवाले पनि स्वदेशमै सम्भावना खोज्ने सोच विकास गर्न आवश्यक छ। राज्य, निजी क्षेत्र र युवाबीच सहकार्य भए मात्र बेरोजगारीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ।

    आगामी चार वर्षपछि सिस्ने–८ कस्तो देख्न पाइएला ?
    हामी निर्वाचित हुँदा जनतासामु गरेका प्रतिबद्धतामै केन्द्रित भएर अघि बढ्नेछौँ।

    एक वर्षको अवधिमा जनताले महसुस गर्ने गरी स्थानीय सरकारका गतिविधि सञ्चालन गरेका छौँ। आगामी दिनमा विकास निर्माण र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेछौँ।

    शिक्षा, खानेपानी र सडक हाम्रो मुख्य प्राथमिकतामा रहनेछन्। विद्यालयको गुणस्तर सुधार, पूर्वाधार विकास र सहज सेवा प्रवाहमार्फत जनताले स्थानीय सरकारको उपस्थितिलाई अझ बलियो रूपमा अनुभूति गर्ने वातावरण बनाउने हाम्रो लक्ष्य छ।



    nayapana nayapana    
  • १२ श्रावण २०८० शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP