logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सिस्ने पर्यटकीय बृत्तचित्र: युद्ध पर्यटन र पर्यापर्यटनकाे संगम (भिडियाेसहित)

    सिस्ने पर्यटकीय बृत्तचित्र: युद्ध पर्यटन र पर्यापर्यटनकाे संगम (भिडियाेसहित)

    नेपालका ७७ जिल्लामध्येको एक ऐतिहासिक जिल्ला– रुकुम पूर्व । नेपालका हरेक राजनीतिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको साविकको रुकुम जिल्ला देशमा संघीयता आएसँगै पूर्व र पश्चिमगरी दुई भागमा बाँडियो । एक अर्थमा, संघीयताले जन्माएको कान्छो जिल्ला हो, रुकुम पूर्व । र, रुकुमपूर्वका तीन स्थानीय तहमध्येको एक हो– सिस्ने गाउँपालिका ।

    सिस्ने हिमालको काखमा सधैं मुस्कुराइरहने सिस्ने गाउँपालिका प्राकृतिक छँटाले सुसज्जित छ भने साँस्कृतिक सम्पदाले सुसम्पन्न छ । बादलसँग लुकामारी खेल्दै गुप्त दहमा आफ्नै प्रतिबिम्ब हेर्दै मुस्कुराइरहेको सिस्ने हिमालको सौन्दर्यले जो–कोहीको मन लोभ्याउँछ । यसै हिमालको नामबाट नामाकरण गरिएको सुन्दर र समृद्धिको दिशामा लम्किरहेको एउटा गाउँपालिका हो, सिस्ने । हिमालको काखमा लुटपुटिएको यो सुन्दर बस्तीका नागरिकको मुहारमा खुसी थप्न र सुखको बहार ल्याउन गाउँपालिकाले निर्बाह गरेको भूमिका महत्वपूर्ण छ ।

    साविकको सिस्ने, प्वाङ, पोखरा, रुकुमकोट र स्यालापाखा गरी पाँच गाविसलाई मिलाएर यो गाउँपालिका बनाइएको हो । २०७८ सालको जनगणनाअनुसार यस गाँउपालिकामा १८,५३४ नागरिक बसोबास गर्छन् । यस गाउँपालिकाको पूर्वमा पुथा उत्तरगंगा गाउँपालिका, उत्तरमा डोल्पा जिल्ला, पश्चिममा आठबीसकोट, मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिका पर्छ भने दक्षिणमा भूमे गाउँपालिका पर्दछ ।

    अहिले गाउँपालिका केन्द्र रुकुमकोटमा अवस्थित छ । ८ वडामा विभाजित यो गाउँपालिका ३२७.१२ वर्ग कि. मि. क्षेत्रफलमा फैलिएको छ । पूर्वी रुकुमको सदरमुकामसमेत यसै गाउँपालिकामा पर्दछ । यो गाउँपालिका समृद्धिको प्रमुख आधार भनेको यहाँका अनुपम प्राकृतिक सौन्दर्य र विभिन्न पर्यटकीय गन्तव्यहरु हुन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने यहाँका थुप्रै गन्तव्यमध्येको एक हो– कमल दह ।
    कमल दह 
    सिस्ने गाँउपालिका कार्यालयको आँगनमा अवस्थित कमल दहले जो–कोहीको मन लोभ्याउँछ । एक हजार सात सय वर्गमिटर क्षेत्रफलमा फैलिएको यो दहको दृश्यावलोकन गर्दै आनन्द लिनका लागि दैनिक सयौं मानिस आउने गर्दछन् । थकाइ मेट्न होस् या साँझ–बिहान टहलिन आउने आन्तरिक पर्यटकको चहलचहलले कमल दहको प्रवद्र्धनमा सघाउ पुगेको छ ।

    मुहानबिनानै भरिएको यो दहको दृश्यले रोमाञ्चक मात्रै बनाउँदैन, अचम्भित पनि बनाउँछ । किनकि, न यहाँ कतैबाट पानी आएको देखिन्छ, न त यहाँको पानी बगेर अन्यत्र गएको नै । तै पनि सदाबहार कन्चन पानीले भरिएको यो दहले धेरैलाई आनन्दानुभूत गराएको छ । धार्मिक दृष्टिबाट पनि यो दलको विशेष महत्व छ ।
    बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित रुकुम पूर्बका ताल मध्ये कमल ताल धार्मिक तथा पर्यटकीय महत्व बोकेको तालमा बर्षेनी शिवरात्री,चैते दशैं,हरितालिका तिज र बडा दशैंमा भव्य मेला लाग्ने गर्छ । सिस्ने गाँउपालिका वडा नं ५ बाहुन्थानामा अवस्थित थय ताल नेपालको नक्सा जस्तय देखिन्छ । यसको क्षेत्रफल १.९५ बर्ग किमि छ ।
    प्राय चैत्र बैशाख महिनामा यस तालबाट कमलको जरा निकाल्ने गरीन्छ । जुनबाट अचार या तरकारी बनाइन्छ । त्यसबाहेक जण्डीस या अन्य रोगको उपचारको लागी प्रयोग गरीन्छ ।
    असार,साउन महिना तिर तालले माला भिरेझै देखिने कमलको हरीयो पात अनि कमलको फूलले यो दहको सौन्दर्य झन् बढाएको छ । वरिपरि फूल फक्रिएको दहको बीचमा देखिने कन्चन पानीको बहावले हरेक प्रकृतिप्रेमीलाई मन्त्रमुग्ध बनाउँछ ।
    द्वन्द्व संग्रहालय पार्क
    सिस्ने गाउँपालिकाको अर्को पर्यटकीय आकर्षणको केन्द्र एवम् ऐतिहासिक धरोहर हो, द्वन्द्व संग्रहालय पार्क । १० वर्षे माओवादी सशस्त्र विद्रोहसँग सम्बन्धित युद्ध अवशेष र युद्धबाट सिर्जित नवीन सँस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले यो पार्कको निर्माण गरिएको हो । खासगरी युद्ध पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको यो पार्कको आफ्नै ऐतिहासिक जग छ । २०५७ साल चैत्र १९ गते रुकुमकोट ठाँटी डाँडामा रहेको इलाका प्रहरी कार्यालयलाई तत्कालीन विद्रोही माओवादी कब्जा गरेको थियो । अहिले त्यहीं स्थानलाई द्वन्द्व संग्रहालयको रुपमा विकास गरिएको हो ।
    नेटा सहिद पार्क
    तत्कालीन समयमा नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहका क्रममा जीवन आहुति दिएका सहिदहरुको सम्झनामा बनाइएको एक ऐतिहासिक पर्यटकीय गन्तव्य हो, नेटा सहिद पार्क । संघीयसँगै प्रदेश सरकार र सिस्ने गाउँपालिकाको करिब पाँच करोड रुपैयाँमा निर्माण गरिएको यो पार्कमा १४ जना सहिदको सालिक बनाइएको छ । त्यस्तै संग्रहालय भित्र यसै क्षेत्रको जडिबुटी, वन्यजन्तु, धर्म, संस्कृति, रीतिरिवाज, भेषभूषा र पेशा झल्किने सामग्रीहरु संग्रह गरिएको छ । जसको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् ।

    देउराली गुफा
    सिस्ने गाउँपालिकाको पर्यटकीय गन्तव्यमध्ये देउराली गुफा पनि एक हो । मुख्य द्वाराबाट छिरेपछि यो गुफाभित्र ढुङ्गाका विभिन्न अनौठा आकृति देखिन्छन् । ती आकृतिबाट तप–तप पानी चुहिएको दृश्य निकै आकर्षक देखिन्छ । अझ रोचक कुरा त यो छ कि, गुफाभित्र पानीले निथु्रक्क भिजेको मानिस बाहिर निस्कनेबित्तिकै ओभानो भइसक्छ ।
    यो गुफामा चैते दशैं र नयाँ वर्षको दिन विशेष मेला लाग्ने गर्दछ । र, यो गुफामा जाँदा केटाकेटीसँगै जानु राम्रो हुने र गुफाभित्र छिरेपछि झुटो बोल्नु नहुने मान्यता छ ।
    सानो गुप्ता/ठूलो गुप्ता
    सिस्ने गाउँपालिका वडा नं १ मा अवस्थित गुप्त दह समुन्द्र सतहदेखि करिब ३५०० मिटर उचाइमा छ । वारि हिमाल, पारि हिमाल । हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का । अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दुई दह– सानो गुप्ता र ठूलो गुप्ता । तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमालको यो अनुपम सौन्दर्य अवर्णनीय छ । तर, यो ठाउँको संरक्षणसँगै आवश्यक प्रचार प्रसार हुन सकेको छैन । केही समयअघिसम्म गुमनाम रहेको गुप्त दहको अहिले सिस्ने हिमालसँग नाम जोडिएर आउन थालेको छ ।

    जिल्ला सदरमुकाम रुकुमकोटबाट दुई दिनको पैदल यात्रापछि पुगिने यो ठाउँबाट सिस्ने हिमालसँगै रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सल्यान र दाङका विभिन्न ठाउँ अवलोकन गर्न सकिन्छ । रुकुमकोट–नायगाड–भट्टेचौर–ओख्रेना–दमार र गुप्ताको मार्गबाट निरन्तर दुई दिनको पैदल यात्रापछि यस ठाउँमा पुग्न सकिन्छ । वरिपरि हरियाली जंगलसहितका अग्ला पहाडबीचमा अवस्थित यो दह झट्ट हेर्दा पानको पातको आकारको देखिन्छ ।

    यसले पनि धेरैलाई आकर्षित गरेको छ । त्यस्तै यहाँका अरु थुप्रै दहमध्ये अर्को मुख्य आकर्षणको यो दहको पनि बेग्लै र विशेष विशेषता छ । जंगलबीचको अग्लो टाकुरामा अवस्थित यो सुन्दर दहमा सिस्ने हिमालको छायाँ प्रष्टैसँग देखिन्छ । जुन दृश्य निकै मनमोहक लाग्छ । समुद्री सतहबाट तीन हजार छ सय मिटर उचाइमा रहेको ताल परिसरबाट देखिने दृश्यले धर्तीमै स्वर्गको आभास दिलाउँछ । जेठदेखि भदौ, असोजसम्म दह आसपासको खर्कमा चरण गरिरहेका सयौं भेडा तथा च्यांग्राले यहाँको सौन्दर्य झन् बढाउने गरेको छ ।
    तातोपानी
    सिस्नेको एउटा महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्यटकीय गन्तव्य हो, तातोपानी कुण्ड । सानीभेरी नदीको किनारमा अवस्थित कुण्डमा स्नान गर्नाले विभिन्न छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । त्यस्तै यहाँ स्नान गर्नाले विगतमा गरेका पाप काटिने र धर्म बढ्ने जनविश्वास छ । यहाँ पुस मसान्त र माघे संक्रान्तिका दिन विशेष मेला लाग्ने गरेको छ ।

    त्यस दिन यहाँ माघी नुहाउने र पूजापाठ गर्नेहरुको घुइँचोनै लाग्ने गरेको छ । तर बिडम्बना सानोभेरीले बहाव परिवर्तन गर्दा यो पानी मुहान पनि सर्ने गरेको छ । यसको दीगो समाधानका लागि सरकारीस्तरबाट अझ प्रभावकारी पहल हुन जरुरी छ । यससँगै बागेधारा मन्दिर, देउराली ओडार, सप्तऋषी धारा र देउवरकाजी मन्दिर यहाँका प्रख्यात धार्मिक आस्थाका केन्द्रहरु हुन् । सिस्नेको अर्को प्रमुख सौन्दर्य हो– यहाँका मौलिक र प्राचीन गाउँवस्ती । जसको संरक्षण र संवद्र्धनका लागि यहाँका स्थानीयसँगै गाउँपालिकाले पनि महत्वपूर्ण भूमिका निर्बाह गरेको छ ।
    पर्यटन प्रवद्र्धनका लागि यहाँ स्थानीय स्तरबाट विभिन्न पहल भएका छन् । जसअनुसार रुकुमकोट, पोखरा, नायगाड र सिस्नेमा होमस्टे सञ्चालन गरिएको छ ।
    ८ वडामा विभाजित सिस्ने गाउँपालिकाका प्रत्येक वडाको आफ्नै मौलिक विशेषता छन् ।
    वडा नम्बर– १
    पर्यटन प्रवद्र्धनका लागि प्रचुर सम्भावना बोकेको यो वडामा साहसिक पदयात्रासँगै कृषि पर्यटनका क्षेत्रमा थुप्रै काम गर्न सकिन्छ । त्यस्तै, पुराना मौलिक वस्तीहरु, लुम्बिनी प्रदेशकै महत्वपूर्ण हिमशृङखलाअन्तर्गत पर्ने ५ हजार ८४९ मिटर उचाइको सिस्ने हिमाल, र द्वारी भन्झ्याङ यसै वडामा पर्दछ । त्यस्तै सिस्ने हिमालले आफ्नो मुहार हेर्नका लागि बनाएको जस्तो देखिन्छ, यो सुन्दर गुप्त दह । साविकको सिस्ने गाउँ विकास समितिको ९ वटा वडा मिलेर अहिलेको यो वडा बनेको हो । ठूलो सिस्ने, लाम्पाखा, ओख्रेना, दमर, पाखापानी, भट्टेचौर यहाँका प्रमुख गाउँहरु हुन् । बिडम्बना, अहिलेसम्म यो वडामा सडक यातायातको पहुँच पुग्न सकेको छैन । जसकारण यहाँका स्थानीयले दैनिक आवश्यक सामाग्रीहरुसमेत घोडा तथा खच्चडलाई बोकाएर ल्याउने गरेका छन् । यस क्षेत्रमा बहुमुल्य जडिबुटी– पाखनवेद,सुगन्धवाल,खिरौला,वलआलु र सतुवाआदी पाइन्छ । र भिरमौरीको महका लागि पनि यो क्षेत्र प्रख्यात छ ।
    वडा नम्बर– २
    साविकको प्वाङ गाविसका ९ वटा वडा मिलेर बनेको अहिलेको वडा नम्बर नम्बर दुई पूरै पहाडी क्षेत्र हो । यहाँ मोटरबाटो पुगे पनि यातायातको साधन भने संञ्चालनमा आएको छैन । तत्कालीन प्वाङ गाविसको किदा, प्वाङ्ग, लैपा,तुवाङ, दत्कुना, सुद्री, नायगाढ, छिपखोलालगायत गाउँ मिलेर यो वडा बनेको हो । नायगाड र तिप्तरा यस वडाका प्रमुख बजार क्षेत्रहरू हुन् । नेटा सहिदपार्क र कपगार झरणा यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन् ।
    वडा नम्बर– ३
    साविकको पोखरा गाउँ विकास समितिका चार वटा वडालाई मिलाएर बनाएको अहिलेको तीन नम्बर वडाको आफ्नै खास विशेषता छ । पोखरा, पाङ्गा, वागेधारा, राक्से, उपल्लो पोखरालगायत गाउँ रहेको यो वडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । वारिपारि भीमकाय पहाड, पहाडको फेदमा सुसाइरहेको सानोभेरी र सानोभेरीकै किनारमा अवस्थित यो वडा सडक सञ्जालसँग जोडिइसकेको छ । जसकारण यो वडालाई समृद्धि यात्रामा लम्कन सहज छ । त्यस्तै यस वडालाई मह उत्पादनको पकेट क्षेत्रका रुपमा पनि विकास गरिएको छ । पोखरा र पाङ्गा मुख्य बजार क्षेत्र रहेको यो वडामा बागेधारा मन्दिर र तातोपानी जस्ता धार्मिक स्थलहरु अवस्थित छन् ।
    वडा नम्बर– ४
    सिस्ने गाउँपालिकाको वडा नम्बर– ४ साविकको पोखरा गाविसको पाँच वटा वडालाई मिलाएर बनाइएको हो । पुरानो ढाँका, नयाँ ढाँका, काँडा अमलाचौर, भिङ्ग, दादिङ र रातामाटालगायत गाउँहरु मिलेर बनेको यो वडामा तातोपानी र बर्मा मन्दिर जस्ता आकर्षक पर्यटकीय गन्तव्यहरु छन् । अमलाचौर र दादिङ्ग यस वडाका प्रमुख बजार क्षेत्रहरु हुन भने
    यस वडामा रहेको धार्मिक पर्यटकीय क्षेत्र बर्मा मन्दिरलाई यस क्षेत्रकै एक शक्तीपिठको रुपमा लिइन्छ । स्थानिय रुपमा
    वडा नम्बर– ५
    साविकको रुकुमकोट गाविसका चार वडा वडा मिलेर बनेको अहिलेको पाँच नम्बर वडामा चोक बजार, बाहुन ठाना, टाकुरा र मैदानलगायत गाउँहरु छन् । सिस्ने गाउँपालिकाको कार्यालय पनि यसै वडामा रहेको छ । यस वडाको मुख्य बजार क्षेत्र चोक बजार हो भने कमलदह, सहिदपार्क झुम्कामारे, देउराली गुफा, कोट दरबार र बोक्सेजाार यहाँ प्रमुख पर्यटकीय स्थल हुन् ।
    वडा नम्बर– ६
    सिस्ने गाउँपालिकाको ६ नम्बर वडा साविकको रुकुमकोट गाविसका चार वटा वडा मिलेर बनेको हो । यहाँ बाहुनडेरा, आला, ढकलबारा र खोपिचारलगयात गाउँहरु छन् । छिप्रिदह यस वडाको मुख्य बजार क्षेत्र हो भने देउवर काजी दरवार, लुस्पा सप्तऋषि धारा र छिप्रदह यस वडाको मुख्य पर्यटकीय आकर्षणका केन्द्र हुन् ।

    वडा नम्बर– ७
    साविकको स्यालापाखा गाविसका ३ वटा वडाअन्तर्गत चिसापानी, सान्चौर, नाथिगाड, घरेली, कानेबाङ्ग र गौठिचौर मिलेर बनेको यस वडालाई धान उत्पादनका लागि उर्वर भूमि मानिन्छ । त्यस्तै यहाँ सुन्तलाको पनि राम्रो उत्पादन हुन्छ । सिस्नेरी र नाथिगाड यहाँका मुख्य बजार क्षेत्र हुन् भने नौधारी छहरा र देवरकाजी मन्दिर प्रमुख पर्यटकीय स्थल हुन् ।
    वडा नम्बर– ८
    स्यालापाखा, भुरुङ्गा, लम्पाकोट र झिमखोला गरी साविकको स्यालपाखा गाविसका चारवडा वडा मिलेर बनेको अहिलेको ८ नम्बर वडा निकै सुन्दर र आकर्षक छ । यो वडा गाउँपालिकाकै सबैभन्दा धेरै सुन्तला उत्पादन हुने क्षेत्र हो । यो वडालाई फलफूल उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । यहाँ धान, मकै, कोदो जस्ता परम्परागत खेती पनि गरिन्छ । धपे यहाँको प्रमुख बजार क्षेत्र हो भने हुर्दुम्म, छहरा, सानो डिग्रे यस वडाका मुख्य पर्यटकिय स्थलहरु हुन् ।

    सिस्नेको अधिकांश जनसंख्या कृषीमा निर्भर छ । यस क्षेत्रमा मकै,गहुँ,धान,कोदो,भटमास,सिमी तोरी लगाएतका अन्नबाली फल्छन भने स्याउ,सुन्तला,केरा लगाएतका फलफूलहरु उत्पादन हुन्छन् । पश’पालन अन्तरगत यहाँ भैसी,गाई, भेडा,बाख्रलगाएतका पशु पालिन्छ ।
    सिस्ने गाँउपापिकाले पालिकाभित्रको कृषी सम्भाव्यतालाई आधार मान्दै कृषी उपजहरुको पकेट क्षेत्र घोषणा गरेर विकास तथा पर्वद्दन गरेको छ ।

    यस गाउँपालिकामा एउटा क्याम्पस सहित ८ माध्यामिक विद्यालय,३० आधारभुत,एउटा संस्थागत,२५ बालविकास केन्द्र र सामुदायीक सिकाई केन्द्र छ । शैक्षिक संस्थाहरुको गुणस्तर बृद्दीका लागी विभिन्न शैक्षिक सुधारका कार्यक्रम अघि सारेर गुणस्तरिय शिक्षाको प्रत्याभुती गराउने पहल गरेको छ । पालिकाले स्थानीय पाठ्यक्रम निर्माण, प्राविधिक शिक्षामा विशेष जोड
    हो, सिस्ने गाउँपालिका प्राकृतिक, धार्मिक र साँस्कृतिक सम्पदाले सुसम्पन्न छ । पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको यो सुन्दर भुगोललाई देशभरसँगै विश्वभर चिनाउन आवश्यक छ । परम्परागत कृषि प्रणालीमा सुधार गर्दै आधुनिक र वैज्ञानिक शैली अपनाउने हो भने यहाँका युवा रोजगारीका लागि विदेश पलायन हुनुपर्ने बाध्यता आउने छैन । त्यसैले सुन्दर सिस्नेलाई समृद्ध बनाउनका लागि सरकारी संयन्त्रसँगै जनस्तरबाट पनि उल्लेख्य पहल हुन आवश्यक छ ।
    ०००

    भिडियाे:

     



    nayapana nayapana    
  • १४ चैत्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP