logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गाउँ र शहर जोड्न पाेखरामा ‘गाउँ पर्यटन मार्ट’

    • nayapana nayapana
    • ११ जेष्ठ २०८२ शनिबार
    गाउँ र शहर जोड्न पाेखरामा ‘गाउँ पर्यटन मार्ट’

    गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ ।

    गण्डकी प्रदेशभित्र होमस्टे सञ्चालन गरिरहेका २७ होमस्टेसँगै कोशी प्रदेश र बन्दीपुरबाट पर्यटन सम्बद्ध प्रतिनिधि मार्टमा सहभागी छन् । मार्टमा सहभागी होमस्टेका तर्फबाट आआफ्ना होमस्टेमा दिइने सेवा, प्याकेज तथा आकर्षणबारे जानकारी गराइएको छ । गाउँ पर्यटन सम्बद्ध विभिन्न विषयमा छलफल सत्रहरू सञ्चालन भएका छन् ।

    होमस्टे मार्टको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गाउँ पर्यटनको विकास सरकारको प्राथमिकतामा रहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले होमस्टे केवल गाउँमै सीमित भएर चल्न नसक्ने बताउँदै शहरका मानिस गाउँ पुग्नैपर्नेमा जोड दिए ।

    गाउँ र शहरलाई पर्यटकीय रुपमा जोड्न मार्ट सञ्चालन गरिएको उनको भनाइ छ ।

    मार्टका क्रममा सञ्चार, उद्योग व्यवसाय र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरूबाट छुट्टाछुट्टै छलफल तथा विचार विमर्श गरिने जनाइएको छ । भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले गाउँ पर्यटनको विकाससँगै होमस्टे व्यवसायलाई प्रभावकारी बनाउन मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गरिन् ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरेक गाउँहरू पर्यटकीय सम्भावनायुक्त हुने बताउँदै गाउँ पर्यटनको विकासका माध्यमबाट तिनीहरूको पर्यटकीय सम्भावना उजागर गर्न सकिने बताए । मार्ट भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।



    nayapana nayapana    
  • ११ जेष्ठ २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP