नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ११औँ महाधिवेशनबाट तेस्रोपटक अध्यक्ष बन्ने प्रतिस्पर्धामा छन् । नवौँ र १०औँ महाधिवेशनसम्म उनका लागि ढाल बनेर उभिएका अधिकांश सारथि यसपटक साथ छाडिसकेका छन् । तर, ओली भने अझै पनि आफूलाई बलियो दावेदार ठान्दै मैदानमा छन् ।
गत भदौ २०–२२ मा सम्पन्न विधान महाधिवेशनबाट पारित विधान संशोधन नगर्ने र पदाधिकारी संख्या नबढाउने घोषणा ओलीले स्वयं गरेका थिए । ओलीनिकट नेताहरूले ईश्वर पोखरेललगायत सहमत भए मात्र विधान संशोधन सम्भव हुने तर्क गर्दै आएका थिए । महाधिवेशन हलसम्म पुग्दा पोखरेल समूह पनि ‘विधान संशोधन नगर्ने र पदाधिकारी नथप्ने’ अडानमै थियो ।
तर अन्त्यमा ओली समूहले बहुमतको बलमा तीन महिनाअघि गरेको निर्णय आफैं उल्ट्यायो । पदाधिकारी संख्या १५ बाट १९ पुर्याइयो । यही निर्णय ओलीका लागि निर्णायक मोड बन्यो । विधान संशोधनपछि पनि उनी आफ्नै समूहका नेताहरूलाई विश्वासमा राख्न असफल भए । नतिजा—उनकै समूहका केही प्रभावशाली नेता पोखरेल प्यानलबाट उम्मेदवार बने ।
अब ओलीलाई छाड्नेहरूको संख्या र उनीहरूद्वारा सिर्जित दबाब अध्यक्ष पदमै ओलीलाई रोक्न पर्याप्त हुन्छ कि हुँदैन, त्यसको फैसला मतपेटिकाले नै गर्नेछ ।
माधव नेपालसँगको गुटसंघर्षदेखि ओलीको सत्ता यात्रासम्म निरन्तर साथ दिएकी पूर्वराष्ट्रपति विद्या भण्डारी अहिले ओलीको खुला विपक्षमा उभिएकी छन् । सदस्यता नवीकरण नहुँदा उनी औपचारिक रूपमा पार्टीभित्र छैनन् । तर ओलीका कमजोरीहरू उनले निरन्तर अन्तर्वार्ता र सार्वजनिक अभिव्यक्तिमार्फत उजागर गरिरहेकी छन् ।
भण्डारीले सदस्यता नवीकरण रोक्नु ओलीको डरको परिणाम भएको आरोप मात्र लगाएकी छैनन्, १०औँ महाधिवेशनमै ११औँमा ईश्वर पोखरेललाई सर्वसम्मत अध्यक्ष बनाउने ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको दाबीसमेत गरेकी छन् । यद्यपि, यो दाबी उनले बाहेक अरू कसैले सार्वजनिक रूपमा पुष्टि गरेका छैनन् ।
त्यतिबेला राष्ट्रपति रहेकी भण्डारी ओलीको पक्षमा माहोल बनाउन निरन्तर भेटघाटमा सक्रिय थिइन् । अहिले त्यही सम्बन्ध पूर्ण रूपमा चिसिएको छ ।
ओलीका सबैभन्दा भरोसायोग्य सारथिमध्येका एक ईश्वर पोखरेल यसपटक आफैं अध्यक्षको उम्मेदवार बनेर ओलीलाई चुनौती दिइरहेका छन् । नवौँ र १०औँ महाधिवेशनमा ओलीको पक्षमा मजबुत रूपमा उभिएका पोखरेल नवौँ महाधिवेशनमा महासचिवका उम्मेदवार थिए ।
त्यतिबेला माधव नेपाल समूहबाट महासचिव बनेर मैदानमा उत्रिएका सुरेन्द्र पाण्डे पोखरेलसँग जम्मा चार मतले पराजित भएका थिए । अहिले पाण्डे पोखरेल प्यानलबाटै महासचिवका उम्मेदवार बनेका छन् —राजनीतिक समीकरण कति उल्टिएको छ भन्ने स्पष्ट संकेत ।
उपमहासचिव प्रदीप ज्ञवाली खुलेर ओलीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा देखिए पनि भित्री रूपमा असन्तुष्ट छन् । ओलीले प्रस्ताव गरेको उपाध्यक्ष पद अस्वीकार गरेका ज्ञवाली महासचिव बन्न चाहन्थे । तर शंकर पोखरेललाई पुनः महासचिव बनाएपछि उनी केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएर निष्क्रिय जस्तै बनेका छन् ।
यस्तै, कुनै समय ओलीको ‘किचन क्याबिनेट’ का सदस्य तथा सरकारका प्रवक्ता रहिसकेका गोकुल बास्कोटा अहिले ओलीविरोधी प्यानलबाट सचिवका उम्मेदवार छन् । एक समय ‘तराजुमा राख्दा गोकुल बास्कोटा नै भारी’ भन्ने ओलीकै अभिव्यक्ति अहिले राजनीतिक व्यंग्य जस्तै देखिन थालेको छ ।
रघुजी पन्त, भीम आचार्य, राजेन्द्र गौतम, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, आनन्द पोखरेल, लालबाबु पण्डितजस्ता नेताहरू फरक–फरक कारणले ओलीबाट टाढिँदै गएका छन् । कसैले टिकट नपाएको गुनासो गरेका छन्, कसैले शक्ति केन्द्रीकरणप्रति असहमति जनाएका छन् ।
ओलीको आग्रह अस्वीकार गर्दै कुनै पनि पदमा उम्मेदवारी नदिएका काशीनाथ अधिकारीले ‘नयाँलाई पालो दिनुपर्छ’ भन्दै निष्क्रिय बस्ने निर्णय गरेका छन् ।
वरिष्ठ वामपन्थी नेता आरके मैनाली, जो ओलीसँगै १२ वर्ष जेल बसेका सहयोद्धा हुन्, ओलीको राजनीतिक शैलीप्रति तीव्र आलोचक बनेका छन् । ओलीले संगतलाई प्रयोग गर्दै एकपछि अर्को सहयात्रीलाई विस्थापित गरेको उनको आरोप छ ।
“हामीलाई हटाउन माधव नेपाल, वामदेव गौतम र झलनाथ खनाललाई प्रयोग गरियो, पछि विद्या र ईश्वरको साथ लिएर उनीहरूलाई पनि फालियो,” मैनाली भन्छन् । ओलीले बहुदलीय जनवादको आत्मालाई उल्टो प्रयोग गरेको उनको निष्कर्ष छ । ओली जिते पनि ईश्वर पोखरेल समूहको भविष्य सुखद नहुने उनको टिप्पणी छ ।
११औँ महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, एमालेभित्रको शक्ति सन्तुलन, असन्तुष्टि र भविष्यको दिशाको फैसला गर्ने निर्णायक मोड बनेको छ । ओलीको तेस्रो कार्यकाल निरन्तरता पाउँछ कि आफ्नै सारथिहरूको बिद्रोह निर्णायक बन्छ—यसको उत्तर अब मतपेटिकाभित्र बन्द छ ।
प्रतिक्रिया