चन्द्रागिरि नगरपालिका– थानकोटस्थित ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण त्रिभुवन उद्यानलाई थप आकर्षक र सुविधासम्पन्न बनाउन चन्द्रागिरि नगरपालिकाले उच्च प्राथमिकताका साथ पुनःनिर्माण, जीर्णाेद्धार र संरचनागत सुधारका कार्य तीव्र गतिमा अगाडि बढाएको छ।
नगरप्रमुख घनश्याम गिरीका अनुसार नगरपालिकाको समपूरक अनुदानबाट रु तीन करोडभन्दा बढीको लागतमा उद्यानको पुनःसंरचना तथा विकास कार्य जारी छ। हालसम्म बालउद्यान, वनभोजस्थल, बगैँचा, ऐतिहासिक सत्तल/पाटी, ढुङ्गेधारा, पोखरी लगायतका संरचनाहरूको जीर्णाेद्धार तथा पुनःनिर्माण सम्पन्न भइसकेको छ। साथै, गाई, हात्ती, गैँडा लगायत जनावर र विभिन्न पक्षीका आकर्षक मूर्तिहरू पार्कको मध्यभागमा स्थापना गरिएको छ।
बालबालिकाका लागि रमाइला खेल सामग्रीहरू पनि थप गरिएको छ, जसले पारिवारिक वनभोज, घुमफिर र विश्रामका लागि आउने आगन्तुकलाई थप आकर्षित बनाएको छ। विशेषगरी सार्वजनिक बिदाका दिन यहाँ आगन्तुकहरूको उल्लेख्य भीड लाग्ने गरेको छ।
नगरप्रमुख गिरीले भन्नुभयो, “त्रिभुवन पार्कको सम्पूर्ण संरचना र भौतिक अवस्थाको पुनःनिर्माण तथा मर्मत कार्य नगरपालिकाले द्रुत गतिमा अगाडि बढाइरहेको छ। पहिलो चरणमा तीन करोडभन्दा बढीको लगानीमा काम भइरहेको छ भने, आगामी चरणका लागि थप तीन करोड रुपैयाँ सुनिश्चित गरिएको छ, जसले पार्कको दीर्घकालीन संरक्षण र संवर्द्धनमा योगदान पुग्नेछ।”
उनका अनुसार, संघीय तथा प्रदेश सरकारको विशेष ध्यान नपरेपछि नगरपालिकाले स्वयं अग्रसर भई त्रिभुवन पार्कको संरक्षण र विकासमा बजेट विनियोजन गरी काम गरिरहेको हो। चन्द्रागिरि नगरपालिका ऐतिहासिक सम्पदा, धार्मिकस्थल, पर्व र जात्राहरूको संरक्षण र जीवन्तता कायम राख्न प्रतिवद्ध रहेको पनि उहाँले जानकारी दिनुभयो।
हालै नगरप्रमुख गिरीले पार्कको निरीक्षण गर्दै निर्माण तथा पुनःसंरचना कार्यमा संलग्न पक्षहरूलाई तोकिएको समयभित्र गुणस्तरीय ढंगले काम सम्पन्न गर्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “यो परियोजना केवल नगरपालिकाको मात्र नभई मेरो व्यक्तिगत प्रतिष्ठासँग पनि गाँसिएको छ। हामी यस्तो पार्क बनाउनेछौं, जहाँ घुम्न आउने जो कोहीले ‘आहा! पार्क त यस्तो पो हुनु पर्छ’ भन्ने अनुभूति गर्न सकून्।”
विसं २०२४ मा तत्कालीन राजा त्रिभुवनको स्मृतिमा ‘श्री ५ त्रिभुवन स्मारक समिति’ गठन गरी पार्क स्थापना गरिएको हो। नौ सदस्यीय समितिको अध्यक्षता केशवशम्शेर जबराले गर्नुभएको थियो। विसं २०२८ मा निर्माण सम्पन्न भएको पार्क सुरुवाती समयमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको थियो।
पार्कको लोकप्रियता बढेसँगै विसं २०४२ मा समितिले थप ४० रोपनी जमिन खरिद गरी क्षेत्रफल विस्तार गरेको थियो। पार्कभित्र राजा त्रिभुवनको सालिक, भैरवनाथ मन्दिर तथा पोखरी अवस्थित छन्। विसं २०७२ को विनाशकारी भूकम्पमा सालिक क्षतिग्रस्त भए पनि पछि मर्मत गरी पुनःस्थापना गरिएको थियो। सर्वसाधारणका लागि पार्क विसं २०३०/३१ बाट खुला गरिएको थियो, जसको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले गर्नुभएको थियो।
चन्द्रागिरि नगरपालिकाले त्रिभुवन उद्यानलाई राजधानी क्षेत्रकै एक प्रमुख आन्तरिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसाथ संरचनागत विकास तथा संरक्षण कार्यलाई तीव्रता दिएको छ। यसले न केवल स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनेछ, तर ऐतिहासिक र सांस्कृतिक सम्पदाको जगेर्नामा पनि महत्वपूर्ण योगदान पुर्याउनेछ।
प्रतिक्रिया