नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय स्तरबाट सृजनात्मक ढङ्गले भएका सम्भावनाको सदुपयोग गरे नेपाललाई छिट्टै आत्मनिर्भर बनाउन सकिने बताएका छन्।
शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नै देशमा रोजगारी सिर्जना गर्ने गतिविधि विभिन्न रूपले बढाउन आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार, नेपालको इतिहास, संस्कृति, जातीय विविधता र भाषाप्रति गर्व गर्ने मानसिकता विकास गर्नु आजको मुख्य चुनौती हो।
प्रचण्डले भने, “देशभित्रै पर्याप्त सम्भावना छ। हाम्रो गौरवशाली इतिहास, संस्कृति र भाषा जोगाउँदै देश विकासप्रति गर्व गर्ने मानसिकता विकास गर्नुपर्छ। यसरी सकारात्मक सोच र रचनात्मक काम अघि बढाए विदेशिने प्रवृत्ति घटाउन सकिन्छ।”
उनका अनुसार, प्राकृतिक स्रोत–साधन र गौरवशाली इतिहासको आधारमा मौलिक विकासको मोडल तयार गरी राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्दा मात्र देश समृद्ध बन्न सक्छ। “स्थानीय स्तरबाटै सृजनात्मक ढङ्गले सम्भावना उपयोग गर्यौं भने आत्मनिर्भर हुन धेरै समय लाग्दैन। तर हाम्रो दुर्भाग्य के भने, राष्ट्रिय अर्थतन्त्रको मोडल विकास गर्नुको साटो विदेशको नक्कल गर्ने चलन छ,” उनले टिप्पणी गरे।
प्रतिक्रिया