logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    एनपीएल हाम्रो राष्ट्रिय गौरव हो, भव्य तयारी गर्नुस् : प्रधानमन्त्री ओली

    • nayapana nayapana
    • २६ असार २०८२ बिहीबार
    एनपीएल हाम्रो राष्ट्रिय गौरव हो, भव्य तयारी गर्नुस् : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलमा राजनीति नगर्न आग्रह गरेका छन् । सातदोबाटो एन्फा कम्प्लेक्समा स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खेलको विकासमा ध्यान दिन उनलाई सुझाव दिए ।

    ‘सरकारमा राजनीतिक दल नै आउने हो । सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो, कृषि हो भने कृषिको विकास हुनुपर्‍यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्‍यो,’ उनले भने, ‘त्यहाँ राजनीति गर्नुभएन ।’

    राजनीतिका लागि खेलकुदमा स्पेस नभएकोमा प्रधानमन्त्री ओलीले जोड दिए ।

    उनले भने, ‘खेलमा हो भने खेलको विकास गर्नुपर्छ । खेललाई अगाडि लैजानुपर्छ । त्यहाँ पोलिटिक्स’ गर्ने होइन । पोलिटिक्सका लागि ‘देयर इज नो स्पेस’ । जो आउँछ, उसले पोलिटिक्स गर्ने होइन खेलमा ध्यान दिनुपर्‍यो ।’

    खेलकुदमन्त्री तेजुलाल चौधरीलाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन भाँड्न लागिपरेको आरोप लाग्दै आएको छ । खेलकुदमन्त्री चौधरीसमेत उपस्थित रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने एनपीएललाई अगाडि लैजानुपर्ने बताए । यद्यपि, उनले एनपीएल भन्नुपर्नेमा झुक्किएर वाईपीएल भनेका थिए ।

    उनले भने, ‘एनपीएलको भब्य तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो राष्ट्रिय गौरव हो । यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ । जसरी क्रिकेटको क्रेज बढेको छ देशमा, त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ । यसको आयोजना गर्नुस् । यो खेलिनुपर्छ,’ उनले भने ।

    प्रधानमन्त्री ओलीले कीर्तिपुर रंगशाला सानो भयो भनेर चिन्ता नलिन आग्रह गरे। पहिलो फेजअन्तर्गत यति बनेको र दोस्रो फेजमा ठूलो रूपमा विस्तार हुने उनकाे भनाइ छ।

    ओलीले भने, ‘कीर्तिपुर रंगशाला सानो भएर आत्तिनुभएन, यो निरन्तर विस्तार हुन्छ। धेरै जनाले हेर्ने बनाउँछौं। अहिलेको त फर्स्ट फेजको काम हो, दोस्रो फेजमा अझ ठूलो विस्तार हुन्छ। अब यो क्रिकेट मैदानमात्र होइन, रंगशालामा परिणत भएको छ। राति खेल्न मिल्ने हुनेछ। यसलाई अन्तर्राष्ट्रिय स्तरको मैदानको रूपमा विकास गर्दैछौं  ।’



    nayapana nayapana    
  • २६ असार २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP