logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    ‘पहाडकी रानी’ बन्दीपुरसँग पोखराको पर्यटन सहकार्य

    • nayapana nayapana
    • ३ भाद्र २०८२ मंगलवार
    ‘पहाडकी रानी’ बन्दीपुरसँग पोखराको पर्यटन सहकार्य

    पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष–२०२५ को सन्दर्भमा गण्डकी प्रदेशका विभिन्न स्थानीय तहहरूसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनका गतिविधि विस्तार गरिरहेको छ। यसैक्रममा, पर्यटकीय, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने तनहुँको बन्दीपुर गाउँपालिकासँग पर्यटकीय साझेदारी र सहकार्यका सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईको नेतृत्वमा गएको टोलीले ‘पहाडकी रानी’ को उपमा पाएको बन्दीपुरमा स्थानीय अधिकारीहरूसँग दिगो पर्यटन विकासका लागि आवश्यक सहकार्यका विषयमा विस्तृत छलफल गरेको हो। संयोजक भट्टराईका अनुसार, “हामी गण्डकी प्रदेशभित्रका ८५ वटै स्थानीय तहसँग सहकार्य बढाउने तयारीमा छौँ। पर्यटनको दिगो विकास एकल प्रयासले सम्भव हुँदैन, त्यसका लागि समन्वय र साझेदारी अपरिहार्य छ।”

    कार्यक्रममा बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले पोखरासँगको सहकार्यले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै सहकार्यका लागि गाउँपालिका तयार रहेको जनाउनुभयो। त्यस्तै, बन्दीपुर भ्रमण वर्ष–२०२५ का संयोजक बैशबहादुर गुरुङले पर्यटकीय गन्तव्यहरूबीचको सहकार्यले दिगो पर्यटनमा टेवा पुर्‍याउने बताउँदै पोखराले सहकार्यको नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो।

    पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिनाले पर्यटनमा सहकार्य बढाउने उद्देश्यले स्थानीय तहहरूसँग साझेदारीको अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, पोखरालाई पर्यटन राजधानी घोषणा गरिएपछि एसियाली विकास बैंकलगायत विकास साझेदार संस्थाहरू पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्न इच्छुक देखिएका छन्।

    कार्यसम्पादन समितिका सह–संयोजक दामोदरभक्त थापाले गन्तव्यबीच पर्यटक आदानप्रदान गर्न सकेमा दुवै पक्षलाई लाभ पुग्ने बताउनुभयो। यसले पर्यटकको बसाइ अवधि लम्ब्याउनुका साथै स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष फाइदा पुर्‍याउने उहाँको भनाइ थियो।

    अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डिपी अधिकारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, महिला व्यवसायी रामकली खड्का, बन्दीपुर भ्रमण वर्षका सदस्य राजु बानियाँ, तथा उद्योग वाणिज्य संघ बन्दीपुरका अध्यक्ष घनश्याम खड्कालगायतको उपस्थिति रहेको थियो। उनीहरूले गन्तव्यबीचको सहकार्यबाट पर्यटकको बसाइ लम्ब्याउने, खर्च वृद्धि गराउने र समग्र क्षेत्रीय पर्यटन विकासमा योगदान पुग्ने धारणा व्यक्त गरे।

    यस किसिमका सहकार्यले गण्डकी प्रदेशभित्रको समन्वित पर्यटन प्रवर्द्धनमा नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।



    nayapana nayapana    
  • ३ भाद्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP