logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनदहको अन्तर्राष्ट्रिय प्रवर्द्धनतर्फ नयाँ कदम, डकुमेन्ट्री सार्वजनिक

    • nayapana nayapana
    • १७ चैत्र २०८२ मंगलवार
    सुनदहको अन्तर्राष्ट्रिय प्रवर्द्धनतर्फ नयाँ कदम, डकुमेन्ट्री सार्वजनिक

    रुकुम पूर्वस्थित सुनदह लाई विश्व पर्यटन बजारमा स्थापित गर्ने उद्देश्यसहित तयार गरिएको डकुमेन्ट्री सार्वजनिक गरिएको छ।

    पुथा उत्तरगंगा गाउँपालिकानेपाल पर्यटन बोर्ड को सहकार्यमा सम्पन्न कार्यक्रममा नीति निर्माता, पर्यटन विज्ञ तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरको “विशेष गन्तव्य” का रूपमा विकास गर्न पूर्वाधार निर्माण, प्रभावकारी प्रचार र रणनीतिक सहकार्य आवश्यक रहेको बताए। उनले डकुमेन्ट्रीले सुनदहको वास्तविक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबीच सशक्त समन्वय गर्न आग्रह गरे।

    लुम्बिनी प्रदेशसभा सदस्य दिल कुमारी बुढा ले सुनदहलाई “आकाशबाट झरेको स्वर्गको टुक्रा” को संज्ञा दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमणका लागि आह्वान गरिन्। गाउँपालिका अध्यक्ष पुनिराज घर्ती ले सुनदहको अपार पर्यटन सम्भावना उजागर गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया ले सुनदहलाई भौगोलिक रूपमा विशिष्ट गन्तव्यका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै देशभर नयाँ पर्यटन गन्तव्यहरूको पहिचान र ब्रान्डिङ आवश्यक रहेको धारणा राखे।

    ४,४३५ मिटर उचाइमा अवस्थित सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र हो। यहाँ रातो पाण्डा, कस्तुरी मृगजस्ता दुर्लभ वन्यजन्तु, विविध पक्षी प्रजाति तथा यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटी पाइन्छन्, जसले यस क्षेत्रलाई पर्यावरणीय रूपमा पनि विशेष बनाएको छ।

    २८ मिनेट लामो उक्त डकुमेन्ट्रीले सुनदहको अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदालाई समेट्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको छ।

    कार्यक्रममा वडा नं. ३ का अध्यक्ष बमबहादुर बुढाले पर्यटन पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट अभाव रहेको उल्लेख गर्दै सडक, पुल लगायतका आधारभूत संरचना विकासमा संघ र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए।

    स्थानीय सरकार र पर्यटन निकायहरूले पूर्वाधार, ब्रान्डिङ र प्रचारप्रसारमा निरन्तर लगानी गरे सुनदह निकट भविष्यमै नेपालको प्रमुख आकर्षक पर्यटन गन्तव्य बन्ने विश्वास व्यक्त गरिएको छ।



    nayapana nayapana    
  • १७ चैत्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP