logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गोदावरीमा सुरू भयो एमाले विधान महाधिवेशन

    • nayapana nayapana
    • २० भाद्र २०८२ शुक्रबार
    गोदावरीमा सुरू भयो एमाले विधान महाधिवेशन

    नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजदेखि सुरु भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभयो।

    महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्ने तय भएको छ। साथै निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै प्रस्तुत गरिने एमालेले जनाएको छ।

    पार्टी प्रचार विभागका अनुसार महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित कुल दुई हजार ३४१ जना सहभागी भएका छन्।

    अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन बिहीबारको सचिवालय बैठकले पारित गरिसकेको छ। आज उक्त प्रतिवेदन प्रस्तुत भएपछि खाजा–विराम रहने र त्यसपछिका सत्रमा पौडेलको विधान संशोधन प्रस्ताव तथा पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ।

    शनिबार प्रतिवेदनहरूबारे १० समूहमा छलफल हुनेछ भने आइतबार समूहले प्रस्तुत गर्ने निष्कर्षपछि अध्यक्ष ओलीको सम्बोधनसहित महाधिवेशन सम्पन्न हुनेछ। ओलीको राजनीतिक प्रतिवेदनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गर्दै आजका मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने एमालेले जनाएको छ।

    प्रतिवेदन र प्रस्तावका मुख्य अंश

    • राजनीतिक प्रतिवेदन : जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने, नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने र ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई पार्टीको गन्तव्यका रूपमा अघि बढाउने रोडम्याप प्रस्तुत।

    • विधान संशोधन प्रस्ताव (पौडेल) :

      • ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्यका रूपमा थप।

      • पार्टीमा दुई प्रकारका सदस्यता व्यवस्था।

      • ७० वर्षे उमेरहद हटाउने।

      • जिल्ला कमिटीलाई कार्यकारी स्वरूपमा कायम गर्ने।

      • केन्द्रीय कमिटी २५१ सदस्यीय, सोको एकतिहाइ पोलिटब्यूरो।

      • १५ पदाधिकारी रहने स्थायी कमिटी, जसमा एक महिला पदाधिकारी अनिवार्य।

    • संगठनात्मक प्रतिवेदन (पोखरेल) : पार्टी निर्माणका समस्या, समाधानका उपाय र ‘निर्णायक राष्ट्रिय शक्ति’ निर्माणको मार्गचित्र प्रस्तुत।

    महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारी तोकिएका छन् :

    • आवास व्यवस्थापन — लालबाबु पण्डित

    • स्वयंसेवक परिचालन — भानुभक्त ढकाल

    • स्वास्थ्य व्यवस्थापन — कृष्णगोपाल श्रेष्ठ

    • प्रचार–प्रसार — राजेन्द्र गौतम

    • मञ्च तथा साजसज्जा — विनोद श्रेष्ठ

    • सांस्कृतिक कार्यक्रम/झाँकी — हेमराज राई

    • खाद्य तथा सचिवालय व्यवस्थापन — डा. भीष्म अधिकारी

    एमालेको विधानअनुसार केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनबीच विधान महाधिवेशन गर्न सक्ने व्यवस्था छ। सोही प्रावधानअनुसार यो दोस्रो विधान महाधिवेशन आयोजना गरिएको हो।



    nayapana nayapana    
  • २० भाद्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP