सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उपाधि जित्दै लुम्बिनी लायन्सले नेपाली क्रिकेटमा अविस्मरणीय पुनरागमनको कथा लेखेको छ। गत सिजन अंक तालिकाको पुछारमा रहेर सबैभन्दा पहिले बाहिरिएको टोली यसपटक च्याम्पियन बनेर संघर्ष, धैर्यता र आत्मविश्वासको उत्कृष्ट उदाहरण प्रस्तुत गर्न सफल भयो।
सिजनको सुरुआत लुम्बिनीका लागि उत्साहजनक रह्यो। पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरे पनि त्यसपछि कर्णाली, काठमान्डु र सुदूरपश्चिमसँग लगातार तीन हारले टोली संकटमा पर्यो। अंक तालिकाको तल्लो स्थानमा पुग्दा समर्थक र लगानीकर्तासमेत निराश देखिन थाले।
तर चौथो खेलपछि लुम्बिनीका लागि प्रत्येक खेल ‘गर या मर’ बन्यो। यही दबाबमा टोलीले आफ्नो वास्तविक चरित्र देखायो। लिग चरणमा पोखरा, विराटनगर र जनकपुरलाई क्रमशः ३, ५ र ४ विकेटले हराउँदै चौथो स्थानमा पुगेर प्लेअफ यात्रा सुनिश्चित गर्यो।
प्लेअफमा लुम्बिनीको आत्मविश्वास चरममा पुग्यो। एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गर्यो भने विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। फाइनलमा पनि लय निरन्तर रहँदा प्रतियोगिताकै सबैभन्दा सन्तुलित मानिएको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि चुम्यो।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। ओपनर दिनेश अधिकारीले १३ बलमा ४२ रनको विस्फोटक इनिङ्स खेले। कप्तान दीपेन्द्रसिंह ऐरीलाई पहिलो ओभरमै चार छक्का प्रहार गर्दै जोडेको २७ रन खेलको निर्णायक मोड बन्यो।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स लुम्बिनीको सन्तुलित बलिङसामु १९.१ ओभरमा ८५ रनमै अलआउट भयो। कप्तान रोहितकुमार पौडेलले ११औँ ओभरमा ह्याट्रिक पूरा गर्दै खेल पूर्ण रूपमा लुम्बिनीको पक्षमा मोडे। बलिङतर्फ रुबेल ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए। ट्रम्पलम्यानले २.१ ओभरमा मात्र ३ रन खर्चिँदै घातक स्पेल फाले।
कप्तान रोहित पौडेल १० खेलमा २७६ रन जोड्दै प्रतियोगिताको दोस्रो सर्वाधिक रनकर्ता बने भने स्पिनर शेर मल्ल १० खेलमा १७ विकेटसहित सन्दीप लामिछानेसँग संयुक्त रूपमा सर्वाधिक विकेट लिने बलर बने। फाइनलमा पनि ३ विकेट लिएका मल्ल च्याम्पियन यात्राका प्रमुख स्तम्भ बने।
लगातार तीन हारपछि छ खेल जित्दै उपाधि उचाल्नुले लुम्बिनी लायन्सको यात्रालाई अझ विशेष बनाएको छ। एक समय प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको टोलीले सही संयोजन, धैर्यता र अटल आत्मविश्वासका साथ असम्भवजस्तै देखिएको लक्ष्य हासिल गर्दै एनपिएल इतिहासमा प्रेरणादायी अध्याय थपेको छ। यो जित लुम्बिनीका समर्थकका लागि मात्र होइन, नेपाली क्रिकेटकै लागि स्मरणीय बनेको छ।
प्रतिक्रिया