नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य जनार्दन शर्मा “प्रभाकर”ले पार्टी र नेकपा (एकीकृत समाजवादी) बीच भइरहेको एकताको प्रयासलाई “सिद्धान्तविहीन आत्मसमर्पण” भन्दै गम्भीर आपत्ति जनाएका छन् । पार्टी सचिवालयको बैठकमा धारणा राख्दै उहाँले वैचारिक स्पष्टता, आत्ममूल्याङ्कन र पुनर्गठनबिनाको एकता पार्टीका लागि विनाशकारी हुने चेतावनी दिनुभयो ।
प्रभाकरले पार्टी एकताको प्रस्ताव अघि बढाउनेभन्दा पहिले माओवादी आन्दोलनको आत्मालोचना, पुनरावलोकन र पुनर्गठन अनिवार्य रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार, “पार्टीलाई विचार, सिद्धान्त र नीति–दिशाको स्पष्ट आधारमा पुनर्गठन नगरी एकता खोज्नु ऐतिहासिक गल्ती हुनेछ ।”
प्रभाकरले वि.सं. २०५२ सालमा आरम्भ भएको जनयुद्धले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशिता र अधिकारको विकेन्द्रीकरण सुनिश्चित गरेको स्मरण गराउनुभयो । तर गणतन्त्र स्थापना पश्चात् सत्तामोह, भ्रष्टाचार र जनजीविकातर्फको बेवास्ताले पार्टी जनताबाट टाढा भएको बताउनुभयो ।
“हाम्रा शीर्ष नेताहरू पद र सुखसुविधामा अल्झिए, जसले पार्टीको क्रान्तिकारी चरित्र कमजोर बनायो,” उहाँले भन्नुभयो, “यही कारण अहिलेको Gen Z आन्दोलन विस्फोट भएको हो — जसले हाम्रो नेतृत्वमाथि नै प्रश्न उठाएको छ।”
सचिवालय बैठकमा प्रभाकरले बिना वैचारिक स्पष्टता गरिएको एकता केही नेताको व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम मात्र हुने टिप्पणी गर्नुभयो । उहाँले भने,
“यस्तो हतारको एकताले वाम आन्दोलनलाई बलियो होइन, अझ कमजोर बनाउँछ । यो क्रान्तिकारी धारलाई क्षीण बनाउने र दक्षिणपन्थी अवसरवादलाई बल दिने कार्य हुनेछ।”
प्रभाकरले पार्टीले पटक–पटक मंसिरमा महाधिवेशन गर्ने निर्णय गरे पनि प्रतिस्पर्धात्मक नेतृत्व र विचार बहसको प्रक्रिया रोकिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँका अनुसार, एकताको नाममा वैचारिक छलफलबाट भाग्ने प्रवृत्तिले माओवादी विचार र पहिचान नै मेटिने जोखिम बढाएको छ ।
उहाँले हालको Gen Z आन्दोलनलाई परिवर्तन, सुशासन र पारदर्शिताको मागका रूपमा व्याख्या गर्दै भने,
“नेतृत्व हस्तान्तरण र राजनीतिक नवीनीकरणको जनमागलाई बेवास्ता गरेर गरिने एकताले पार्टीको साखलाई थप गिराउनेछ र विसर्जनतर्फ धकेल्नेछ।”
अन्त्यमा प्रभाकरले पार्टीको वर्तमान दिशालाई “आत्मसमर्पणतर्फको यात्रा” भन्दै एकता प्रक्रिया तत्काल स्थगन गरी पार्टीको वैचारिक स्पष्टता र जनपक्षीय दिशामा पुनर्गठन गर्न सबै कमरेडहरूलाई आह्वान गर्नुभयो ।
“शहीद, बेपत्ता र घाइते योद्धाहरूको सपना आत्मसमर्पण होइन, पुनर्जागरण हो,” उहाँले निष्कर्ष निकाल्नुभयो ।
प्रतिक्रिया