logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    निजी क्षेत्रको ऊर्जा क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, पीपीए स्पष्ट नभएकोमा इप्पानको चिन्ता

    • nayapana nayapana
    • २२ जेष्ठ २०८३ शुक्रबार
    निजी क्षेत्रको ऊर्जा क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, पीपीए स्पष्ट नभएकोमा इप्पानको चिन्ता

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की ले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी १३ खर्ब १० अर्ब रुपैयाँ पुगिसकेको बताएका छन्।

    बिहीबार इप्पानले आयोजना गरेको बजेटपछिको समीक्षा तथा विगत तीन वर्षमा भएका कामबारे आयोजित कार्यक्रममा अध्यक्ष कार्कीले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको योगदान ८० प्रतिशत पुगेको जानकारी दिए।

    उनका अनुसार हाल देशमा जडित कुल चार हजार २०० मेगावाट विद्युत् उत्पादन क्षमतामध्ये तीन हजार ५०० मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ। उनले निजी क्षेत्रको कुल लगानीमध्ये आठ खर्ब ७० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट र चार खर्ब ४० अर्ब रुपैयाँ निजी क्षेत्रकै लगानी रहेको बताए।

    अध्यक्ष कार्कीले जलविद्युत् क्षेत्रले तीन लाखभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्नुका साथै वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान पुर्‍याइरहेको उल्लेख गरे।

    सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि बजेटमा ठूला आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धमा स्पष्ट नीति नआएकाले लगानीकर्ता निराश बनेको उनको भनाइ छ।

    इप्पानले ऊर्जा क्षेत्रको विकासका लागि ५० वर्षे अनुमतिपत्र अवधि सुनिश्चित गर्न, निजी क्षेत्रलाई विद्युत् व्यापार तथा प्रसारण लाइनमा सहभागी गराउन, वन तथा वातावरणीय स्वीकृतिसम्बन्धी जटिलता हटाउन र ‘एकद्वार प्रणाली’ लागू गर्न सरकारसँग माग गरेको छ।

    ‘विगत तीन वर्षमा हामीले पावर समिट र हाइड्रो एक्स्पोजस्ता सफल कार्यक्रम सञ्चालन गर्‍यौं, तर नीतिगत तहमा अझै धेरै सुधार आवश्यक छन्। आठ मन्त्रालय र २३ विभाग धाउनुपर्ने बाध्यता अन्त्य नभएसम्म ऊर्जा क्षेत्रको द्रुत विकास सम्भव छैन,’ अध्यक्ष कार्कीले भने।

    इप्पानले बाढी प्रभावित जलविद्युत् आयोजनालाई राहत उपलब्ध गराउन, आयोजनाको सुरक्षा सुनिश्चित गर्न तथा कर छुटलगायतका विषयमा सरकारबाट थप सहजीकरण आवश्यक रहेको पनि जनाएको छ।



    nayapana nayapana    
  • २२ जेष्ठ २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP