logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    चियाको गिलासबाट समृद्धिको कथा: ढोरपाटनमा ग्रामीण पर्यटनको चमत्कार

    • nayapana nayapana
    • १५ श्रावण २०८२ बुधबार
    चियाको गिलासबाट समृद्धिको कथा: ढोरपाटनमा ग्रामीण पर्यटनको चमत्कार

     समाचार सारांश

    • पर्यटक आगमनसँगै गोठालाको दूध, दही, मही, चिया गोठमै बिक्री हुन थालेको छ।

    • चेप्टेढुङ्गामा चिया बेचेर दिनमा हजारौं कमाउने गोठालाहरू।

    • सिजनमा घ्यू बनाउन नपर्ने, सबै उत्पादन स्थानीयस्तरमै खपत।

    • एक वर्षमै ८ हजार पर्यटक वृद्धिले बुकीपाटन पर्यटकीय केन्द्रका रूपमा स्थापित।

    ढोरपाटनको हरियाली, हिमाली दृश्य र शान्त प्रकृतिको सौन्दर्यको मजा लिन आउने पर्यटकसँगै अब यहाँका गोठालाको गोठमै समृद्धि झुल्किन थालेको छ।
    विशेष गरी बुकीपाटन र त्यस वरपरका गोठमा बस्दै आएका गोठालाहरूको जीवनशैलीमा उल्लेखनीय परिवर्तन देखिएको छ। पर्यटकहरूको आगमनसँगै दूध, दही, मही, चिया र घ्यूजस्ता स्थानीय उत्पादनको खपत बढ्दा गोठमै नगद आम्दानी हुन थालेको छ।

    गोठमै चिया, दूध र खिरको स्वाद
    पर्यटकहरूको बसोबास र खानपानका लागि गोठालाहरूले आफ्ना उत्पादन सहज रूपमा खपत गर्न थालेका छन्। ७२ वर्षीय गोठाला देवबहादुर विक भन्छन्,
    “पहिला घ्यू बेच्न ढोरपाटन लैजान्थ्यौं, मही त खेर गथ्र्यो। अहिले गोठमै खिर, चिया पकाएर पर्यटकलाई खुवाउँछौं, पैसा पनि यतै आउँछ।”

    चेप्टेढुङ्गाको चियाले कमायो नाम र नाफा
    बुकीपाटन उक्लने मार्गमा पर्ने चेप्टेढुङ्गामा गोठ राखेका गुमानसिंह कुमाइले एकै दिन १०० गिलाससम्म दूधको चिया बेचेर राम्रै आम्दानी गरिरहेका छन्।
    “१०० रुपैयाँमा एक गिलास चिया बेच्दा घ्यू र दही बनाउन झन्झट छैन, दूध त चिया बनाउँदा सकिन्छ,” कुमाइले मुस्कुराउँदै भने।
    उनको गोठ पदयात्रा मार्गकै छेउमा भएकाले पर्यटकहरू सहजै पुग्ने र स्वादिलो चिया पिउने गरेका छन्।

    पर्यटकको चापसँगै गुल्जार बुकीपाटन
    सिकार आरक्ष क्षेत्र, निशेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन र जलजला पदमार्गमा बढ्दो पर्यटक सङ्ख्याले ढोरपाटन क्षेत्रको आर्थिक गतिविधि तीव्र बनाएको छ।
    पछिल्लो एक वर्षमा आठ हजारले पर्यटक संख्यामा वृद्धि भएको छ। यस्तै, गोठबास, घरबास, घोडा सफारी जस्ता सेवाबाट स्थानीयको आम्दानी झन् बढेको छ।

    ग्रामीण पर्यटनको उदाहरणीय मोडेल
    ढोरपाटन क्षेत्र अब सिकार मात्र होइन, संस्कृति, पहिचान, जीवनशैली र स्थानीय उत्पादन अनुभव गर्ने आकर्षक गन्तव्य बन्दै गएको छ।
    भेडा, बाख्रा, भैँसी पाल्ने परम्परागत पेसा पर्यटनसँग गाँसिँदा आयको स्रोत पनि फराकिलो बनेको छ। समुद्री सतहदेखि ४ हजार मिटर माथिको बुकीपाटनसम्म पर्यटक चहकिँदा स्थानीयको अनुहारमा पनि चमक देखिन थालेको छ।

     



    nayapana nayapana    
  • १५ श्रावण २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP