हिमाल, अध्यात्म, संस्कृति र प्रकृतिको अनुपम संगमले भरिएको नेपाललाई विश्वले कहिले सगरमाथा, कहिले बुद्ध, कहिले सांस्कृतिक सम्पदा त कहिले साहसिक पर्यटनमार्फत चिनेको छ। अब भने नेपालले आफ्नो कथा विश्वभर पुर्याउने नयाँ डिजिटल यात्राको सुरुआत गरेको छ — सामाजिक सञ्जाल टिकटकसँगको ऐतिहासिक साझेदारीमार्फत।
नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि टिकटकसँग सहकार्य गरेको औपचारिक घोषणा गरेको छ। यो सहकार्यले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, परम्परा, उत्सव, खानपान र साहसिक अनुभवलाई छोटा भिडियोहरूमार्फत विश्वभर करोडौं डिजिटल दर्शकहरूसम्म पुर्याउने लक्ष्य लिएको छ।
साझेदारीपत्र आदान–प्रदान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त सम्झौतालाई केवल प्रचारप्रसारको प्रयास नभई, नेपाललाई नयाँ पुस्तासम्म पुर्याउने रणनीतिक अभियानको रूपमा व्याख्या गर्नुभयो। “आजका युवाले भ्रमणको निर्णय गर्नुअघि यथार्थ कथा र अनुभव खोज्छन्। टिकटकजस्तो शक्तिशाली डिजिटल माध्यममार्फत तिनीहरूलाई नेपालको असाधारण गन्तव्यहरूको कथा सुनाउने अवसर प्राप्त भएको छ,” मन्त्री पाण्डेले भन्नुभयो।
उहाँले पर्यटनलाई नेपालको आर्थिक मेरुदण्डको रूपमा चित्रण गर्दै सहकार्यबाट ग्रामीण क्षेत्र, साना व्यवसायी, होमस्टे सञ्चालक र स्थानीय पथप्रदर्शकहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। “डिजिटल प्लेटफर्महरूमा देखिने कथा नै अहिलेको विश्वयात्रुहरूको पहिलो प्रेरणा बन्न थालेका छन्। त्यसैले यो सहकार्य नेपालका लागि डिजिटल युगमा पर्यटक भित्र्याउने सुनौलो अवसर हो,” उहाँले थप्नुभयो।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले टिकटकसँगको यो सहकार्यलाई नेपालको आत्मा र सौन्दर्यलाई विश्वभर पुर्याउने क्रान्तिकारी कदमका रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो दीर्घकालीन प्रयासमा टिकटकको विश्वव्यापी पहुँचले अब नयाँ गति दिनेछ। यसले न केवल विदेशी पर्यटकलाई आकर्षित गर्नेछ, तर स्वदेशी युवालाई पनि आफ्नै पहिचान, संस्कृति र परम्परालाई आधुनिक ढंगमा प्रस्तुत गर्ने प्रेरणा दिनेछ।”
बोर्डका अनुसार, आगामी महिनाहरूमा अन्तर्राष्ट्रिय ‘ट्राभल कन्टेन्ट क्रिएटर’हरूलाई नेपालमा आमन्त्रित गरिनेछ। उनीहरूलाई हिमाल, ताल, तीर्थस्थल, मठ–मन्दिर, ‘होमस्टे’ र स्थानीय जीवनशैलीमा सहभागी गराई विश्वभरबाट पर्यटक आकर्षित गर्ने लक्ष्य लिइएको छ।
साझेदारीअन्तर्गत टिकटकले नेपालमै विशेष डिजिटल कार्यशाला आयोजना गर्नेछ। यसमा नेपाली कन्टेन्ट क्रिएटरहरूलाई विश्वस्तरीय प्रस्तुति, दर्शक पहुँच वृद्धि, ब्रान्ड सहकार्य जस्ता विषयमा तालिम दिइनेछ, जसले नेपाली युवालाई डिजिटल कथा भन्ने क्षमतामा थप निखार ल्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा टिकटकका दक्षिण एसिया सार्वजनिक नीति प्रमुख फर्दोस मत्ताकिनले नेपालजस्तो विविधताले भरिएको देशलाई छोटा भिडियोमार्फत विश्वसामु प्रस्तुत गर्नु गौरवको विषय भएको बताउँदै भन्नुभयो, “प्रत्येक दिन टिकटकमा करोडौं प्रयोगकर्ताहरू नयाँ गन्तव्य खोज्छन्। हाम्रो ‘लाइफटाइम एक्स्पेरियन्स’ ह्यासट्यागअन्तर्गत विशेष इन–एप प्लेटफर्ममार्फत नेपाललाई वैश्विक पर्यटकहरूको बकेट लिस्टमा थप मजबूती दिन चाहन्छौं।”
उहाँका अनुसार, हिमालयदेखि तराईसम्मका दृश्य, उत्सव, खानपान, संगीत, संस्कृति र जीवनशैलीका छोटा भिडियो सामग्रीहरू तयार पारिनेछन् र तिनीहरूलाई ग्लोबल दर्शकमाझ पुर्याइनेछ।
सहकार्यअन्तर्गत सन् २०२५ को बाँकी अवधिभर यो अभियान चरणबद्ध रूपमा सञ्चालन गरिने छ। यसबीचमा काठमाडौंमा ‘भिजिट नेपाल डिजिटल एक्स्पो’ आयोजना गरिनेछ, जसमा अन्तर्राष्ट्रिय कन्टेन्ट क्रिएटर, सांस्कृतिक दूतहरू, र पर्यटन व्यवसायीहरूको सहभागीता रहनेछ।
नेपाल पर्यटन बोर्ड र टिकटकको यो सहकार्यलाई नेपाललाई नयाँ पुस्ता, नयाँ बजार र नयाँ डिजिटल विश्वमा पुर्याउने ‘डिजिटल पुल’को रूपमा लिइएको छ।
प्रतिक्रिया