logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    लिपुलेकमा भारतसँगको सहमतिप्रति चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले जनाए आपत्ति

    • nayapana nayapana
    • १४ भाद्र २०८२ शनिबार
    लिपुलेकमा भारतसँगको सहमतिप्रति चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले जनाए आपत्ति

    प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा नेपालको सार्वभौमिकता र भू–अखण्डताको विषयमा स्पष्ट र कडा धारणा प्रस्तुत गरेका छन्। शनिबार थियानजिनमा आयोजित भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा भारत र चीनबीच भएको सहमतिप्रति नेपालले गम्भीर आपत्ति रहेको स्पष्ट रूपमा उल्लेख गरे।

    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले चीन–भारत सहमति नेपालको स्वीकृति विना भएको भन्दै यसले नेपालको भू–अधिकारमाथि प्रश्न उठाएको धारणा व्यक्त गरे। उनले भने, “सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकाली नदीको पूर्वतर्फ पर्ने सम्पूर्ण भू–भाग सार्वभौम नेपालअन्तर्गत पर्दछ। त्यस सन्दर्भमा नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डता प्रति चीनले सदैव सहयोग गर्ने विश्वास लिएको छ।”

    प्रधानमन्त्री ओलीले नेपालले आफ्नो भूमि कुनै तेस्रो मुलुकविरुद्ध प्रयोग हुन नदिने नीति लिएको बताउँदै, त्यसै अनुरूप अरू मुलुकहरूले गर्ने सहमति नेपालका हितविपरीत भएमा त्यसमा असहमति जनाउने नेपालको नीति पनि स्पष्ट गरे। जवाफमा राष्ट्रपति सीले नेपालको अडानप्रति आफ्नो कुनै फरक मत नरहेको जनाउँदै, यो विषय नेपाल र भारतबीच आपसी संवादद्वारा समाधान हुने अपेक्षा व्यक्त गरे।

    प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको भेटमा दुई देशबीचको परम्परागत मित्रता, आर्थिक सहकार्य र क्षेत्रीय साझेदारी विस्तारको सम्भावनाहरूबारे समेत व्यापक छलफल भयो। परराष्ट्र सचिव राईका अनुसार दुवै नेताले द्विपक्षीय संयन्त्रहरूलाई थप सक्रिय तुल्याउने र सहकार्यका क्षेत्रहरूलाई फराकिलो बनाउने समझदारी गरेका छन्।

    प्रधानमन्त्री ओलीको यो चीन भ्रमण सन् २०२५ मा दोस्रो तथा समग्रमा चौथो औपचारिक भ्रमण हो। यस अवसरमा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (BRI) अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने विषयमा पनि महत्वपूर्ण छलफल भएको थियो।

    प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाका अनुसार चीनले नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक बनाउने प्रयासमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ। साथै, गुणस्तरीय तथा व्यावसायिक कृषि उत्पादनमा सहकार्य गर्दै नेपालका निर्यात सम्भावनाहरूलाई प्रवर्द्धन गर्न चीन तयार रहेको जानकारी पनि उनले दिए।

    प्रधानमन्त्री ओलीसँगै पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री छविलाल विश्वकर्मा, सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली तथा नेपालका लागि चीनका राजदूत चेन सोङलगायत उच्चपदस्थ अधिकारीहरू सहभागी थिए।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग बेइजिङमा छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, थियानजिनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा सहभागी हुँदै उनले विभिन्न राष्ट्र प्रमुखहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।



    nayapana nayapana    
  • १४ भाद्र २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP