logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    काठमाडौँ–२ मा पुस्तान्तरणको बहस : जेन–जी आन्दोलनको मर्म कि पुरानै राजनीतिक अभ्यास ?

    • nayapana nayapana
    • २१ पुष २०८२ सोमबार
    काठमाडौँ–२ मा पुस्तान्तरणको बहस : जेन–जी आन्दोलनको मर्म कि पुरानै राजनीतिक अभ्यास ?

    नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट चार जनाको नाम सिफारिस गरेसँगै यस क्षेत्रको राजनीतिक सरगर्मी पुनः चुलिएको छ। जिल्ला कार्यदलले सिफारिस गरेका उम्मेदवारहरूको सूचीमा पार्टी सहसंयोजक माधवकुमार नेपाल, देव चौलागाईं, मधु केसी र नितेश पौडेल रहेका छन्।

    काठमाडौँ–२ अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएको क्षेत्र हो, जसलाई पछिल्लो समय जेन–जी आन्दोलनको राजनीतिक प्रयोगशालाका रूपमा समेत हेरिँदै आएको छ। यही आन्दोलनको दबाबबाट गठन भएको नागरिक सरकारको नेतृत्वमा निर्वाचन हुन गइरहेको सन्दर्भमा यहाँको उम्मेदवार चयनलाई सामान्य दलगत प्रक्रियाभन्दा फरक कोणबाट मूल्याङ्कन गर्न थालिएको छ।

    जेन–जी आन्दोलनको मूल मर्म पुस्तान्तरण, सुशासन, पारदर्शिता र नातावाद–कृपावादको अन्त्य हो। त्यसैले, यो आन्दोलनको केन्द्रमा रहेको काठमाडौँ–२ मा पुरानै राजनीतिक अभ्यास दोहोरिए आन्दोलनको नैतिक आधार नै कमजोर हुने खतरा औंल्याइँदै आएको छ। यही कारण, यहाँ कसलाई उम्मेदवार बनाइन्छ भन्ने प्रश्न पार्टीको आन्तरिक मामिलाभन्दा माथि उठेर सार्वजनिक सरोकारको विषय बनेको छ।

    सिफारिस सूचीमा रहेका उम्मेदवारमध्ये माधवकुमार नेपाल र देव चौलागाईंलाई ‘हेभिवेट’ उम्मेदवारका रूपमा हेरिएको छ। यद्यपि, माधव नेपाल आफ्नै पुरानो निर्वाचन क्षेत्र रौतहटतर्फ फर्किन सक्ने सम्भावना पनि चर्चामा छ। अर्कोतर्फ, देव चौलागाईं २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट सिफारिसमा परे पनि अन्तिम समयमा पूर्वसभामुख ओनसरी घर्तीको प्रवेशपछि पछि हट्न बाध्य भएका थिए।

    देव चौलागाईं काठमाडौँ–२ मा सामाजिक सेवा, युवामुखी गतिविधि र प्रत्यक्ष जनसम्पर्कका कारण लोकप्रिय नेता का रूपमा परिचित छन्। विशेषतः युवाहरू, स्वतन्त्र सोच भएका मतदाता तथा जेन–जी आन्दोलनबाट प्रभावित नागरिकहरूबीच उनको पकड बलियो देखिन्छ। उनी कुनै शक्तिकेन्द्रको आडमा होइन, आफ्नै सामाजिक योगदान र जनविश्वासको आधारमा उभिएको पात्रका रूपमा मूल्याङ्कन गरिन्छन्।

    यसैबीच, सिफारिस सूचीमा समावेश नितेश पौडेल पार्टी सहसंयोजक माधवकुमार नेपालका पूर्व स्वकीय सचिव तथा पारिवारिक नातेदार (भान्जा) हुन्। जेन–जी आन्दोलन नातावाद र कृपावादको विरुद्ध उठेको आन्दोलन भएकाले, पुस्तान्तरणको नाममा पुरानै राजनीतिक परिवारवाद दोहोर्याइयो भने त्यसले जनस्वीकार्यता पाउने सम्भावना न्यून देखिन्छ।

    विशेष गरी काठमाडौँ–२ जस्तो सचेत, प्रश्न गर्ने र परिवर्तनको खोजीमा रहेको निर्वाचन क्षेत्रमा नेतृत्व थोपर्ने शैली अपनाइयो भने त्यसको राजनीतिक प्रतिघात दलले नै व्यहोर्नुपर्ने संकेत देखिन थालेको छ। जेन–जी आन्दोलनको भावनालाई सम्मान गर्ने हो भने, उम्मेदवार चयनमा पनि नयाँ पुस्ताको विश्वास जित्न सक्ने, स्वतन्त्र छवि भएका र नातावादमुक्त पात्रलाई अघि सार्नुपर्ने आवाज बलियो बन्दै गएको छ।

    त्यस अर्थमा, काठमाडौँ–२ मा देव चौलागाईंको उम्मेदवारी जेन–जी आन्दोलनको मर्मसँग बढी मेल खाने विकल्पका रूपमा हेरिन थालेको छ। अब प्रश्न पार्टी नेतृत्वतर्फ सोझिएको छ—जेन–जी आन्दोलनको भावना केवल नारामा सीमित रहनेछ, कि उम्मेदवार चयनमै प्रतिबिम्बित हुनेछ? काठमाडौँ–२ को निर्वाचनले यही प्रश्नको स्पष्ट जवाफ दिने संकेत गरिरहेको छ।



    nayapana nayapana    
  • २१ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP