माओवादी जनयुद्धको आधारभूमि तथा संयोजक प्रचण्डको राजनीतिक गढ मानिने रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ। प्रदेश कमिटीले संस्थापन र असन्तुष्ट पक्षले एकै दिन बोलाएका समानान्तर बैठक स्थगित गरेपछि सम्भावित विभाजन तत्कालका लागि टरेको हो।
पार्टीभित्र दुवै पक्षले छुट्टाछुट्टै बैठकको तयारी गरेपछि जिल्ला संगठन विभाजनको संघारमा पुगेको थियो। तर प्रदेश कमिटीले हस्तक्षेप गर्दै वार्तामार्फत समाधान खोज्न निर्देशन दिएपछि दुवै बैठक स्थगित भएका हुन्।
स्रोतका अनुसार संस्थापन पक्षले रुकुमकोटस्थित पार्टी कार्यालयमा पार्टी इञ्चार्ज तेजबहादुर ओली ‘प्रतिक’, सह–इञ्चार्ज भिउमान घर्ती, रामसुर बुढा ‘वीरता’, सुनिता बीएम, संयोजक कुमारी बराल र सह–संयोजक भुवनेश्वर उपाध्यायसहित रणनीतिक बैठक गरेको थियो। उता असन्तुष्ट पक्षले खाबाङ बगरमा जितमान पुन ‘मार्शल’, होमप्रकाश श्रेष्ठ ‘हिमाल’, मन्सराम खड्का ‘भिक्टर’, पुनिराज घर्ती र रवि बुढालगायतको उपस्थितिमा छुट्टै तयारी बैठक सम्पन्न गरेको थियो।
यद्यपि राजनीतिक वृत्तमा यो विवाद जिम्मेवारी बाँडफाँटको सर्कुलरमा मात्र सीमित नरहेको विश्लेषण भइरहेको छ। संगठनमाथिको नियन्त्रण, भावी नेतृत्व, केन्द्रसँगको पहुँच र आगामी राजनीतिक समीकरणलाई लिएर लामो समयदेखि बढ्दै आएको शक्ति संघर्ष अहिले सतहमा आएको नेताहरूको बुझाइ छ।
विशेषगरी प्रचण्डको निर्वाचन क्षेत्रमै समानान्तर बैठकको अवस्था सिर्जना हुनु स्थानीय विवादभन्दा बढी केन्द्रीय शक्ति समीकरणसँग जोडिएको घटनाका रूपमा हेरिएको छ। प्रदेश कमिटीको हस्तक्षेपले तत्काल विभाजन रोके पनि मूल राजनीतिक मतभेद समाधान नभएकाले रुकुम पूर्वको शक्ति संघर्ष अझै समाप्त भइनसकेको र भविष्यमा पुनः चर्किन सक्ने आकलन गरिएको छ।
प्रतिक्रिया