दुर्लभ मानिने चरो चस्मे उलुक (ब्राउन उड उल–लेप्टोग्रामिका) इलाममा फेला परेको छ ।
वाइल्ड लाइफ फोटोग्राफर देबेन खरेल इलाम नगरपालिकाको धोबिधारादेखि बिब्ल्याँटेबीचको क्षेत्रमा यो चराको तस्बिर खिच्न सफल भएका हुन् ।
स्थानीय ग्याल्जेन शेर्पाको सल्लाहमा खोजी गर्दै जाँदा यो चरा भेटिएको खरेलले बताए । खरेलका अनुसार यसको शरीरको लम्बाई करिब ५३ सेन्टिमिटर हुन्छ । यो कानजस्तो आकार बिनाको गोलो टाउको भएको उल्लु प्रजातिमा नेपालमा पाइने सबैभन्दा ठूलो आकारको रहेको उनले बताए । ‘यो भेटिएको स्थानमा वयस्क हुन लागेका अल्पवयस्क दुई र वयस्क दुई गरी चार वटा फेला परेका हुन्,’ खरेलले भने, ‘यो चरा दुर्लभको सूचीमा छ, हत्तपत्त भेटिँदैन ।’
मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्षसमेत रहेका खरेलले यो चरा किसानको साथी भएको बताए । ‘यसले आफ्ना बच्चा हुर्काउँदा धेरैभन्दा धेरै मुसा मारेर खुवाउँछ,’ उनले भने, ‘त्यसैले यो किसानको साथी हो ।’ उनले चरा हेर्न चाहने पर्यटक यो चरा खोज्न धाएर आउन सक्ने बताए । ‘यो चरा यहाँ पाइन्छ भन्ने थाहा पाएपछि चरा प्रेमीहरू धेरै आकर्षित हुन्छन्,’ खरेलले भने, ‘पर्यटन प्रवर्द्धनमा समेत यो चराले सघाउँछ ।’
प्रतिक्रिया