विश्व वातावरण दिवस २०२६ को अवसरमा रौतहटको गढीमाई नगरपालिका–२, समनपुरमा जलवायु परिवर्तनका असर, बगर क्षेत्रको पुनर्स्थापना तथा प्रकृतिमा आधारित समाधानबारे जनचेतना फैलाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको छ।
नदी तटीय क्षेत्रहरूको लागि कृषि–वनमा आधारित अनुकूलन योजनाहरू (बगर परियोजना) अन्तर्गत आयोजित उक्त कार्यक्रम हेफर नेपालद्वारा रौतहट र सिन्धुलीमा सञ्चालन भइरहेको परियोजनाको हिस्सा हो। कार्यक्रम विश्व वातावरण दिवसको मूल नारा “समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास” सँग जोडेर सञ्चालन गरिएको थियो।
‘बहाव’ शीर्षकको सडक नाटकले जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, खडेरी, नदी कटान, प्रदूषण तथा नदी तटीय समुदायमा खाद्य र घाँस–चाराको अभावजस्ता समस्यालाई कलात्मक ढंगले प्रस्तुत गरेको थियो। गीत, संवाद र दर्शकसँगको अन्तरक्रियामार्फत नाटकले नदीको बहाव परिवर्तन र चरम मौसमी घटनाका कारण किसानहरूले उर्वर भूमि गुमाउँदै गएको यथार्थ चित्रण गरेको थियो।
नाटकमा बागमती नदी किनारका किसानहरूको कथा समेटिएको थियो, जहाँ एक समय उत्पादनशील रहेको खेतीयोग्य जमिन बाढी, कटान, अव्यवस्थित फोहोर व्यवस्थापन र कमजोर भूमि संरक्षणका कारण क्रमशः बाँझो बगरमा परिणत हुँदै गएको देखाइएको थियो। साथै, बाढी नियन्त्रणका लागि केवल कंक्रिटका तटबन्ध पर्याप्त नहुने र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन उपायहरू दिगो समाधान बन्न सक्ने सन्देश दिइएको थियो।
बगर परियोजनाका परियोजना प्रबन्धक कृष्ण देव जोशीले परियोजनाले जलवायु परिवर्तन, बाढी तथा खडेरीका असर न्यूनीकरण गर्न प्रकृतिमा आधारित समाधानलाई प्राथमिकतामा राख्दै कृषि वनमार्फत बगर क्षेत्र पुनर्स्थापनामा काम गरिरहेको बताए।
उनका अनुसार परियोजनाले माटो संरक्षण, बाढी जोखिम न्यूनीकरण तथा दीर्घकालीन जीविकोपार्जन सुदृढीकरणका लागि समुदायसँग सहकार्य गरिरहेको छ। नदी तटीय क्षेत्रको भू–उपयोग योजना तथा कृषि वनजस्ता पारिस्थितिकीय प्रणालीमा आधारित उपायहरूले जमिनलाई मजबुत बनाउने, बाढीको बहावलाई नियन्त्रण गर्ने तथा कृषि र पशुपालनलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
हास्य, भावना, संगीत र समुदायसँगको प्रत्यक्ष संवादलाई माध्यम बनाएको सडक नाटकले अल्पकालीन राहतभन्दा दीर्घकालीन जलवायु अनुकूलन रणनीतिमा जोड दिनुपर्ने सन्देश दिएको थियो। कार्यक्रममार्फत समुदाय, स्थानीय सरकार तथा सरोकारवालाहरूलाई हरियाली, सुरक्षित र जलवायु–उत्थानशील भविष्य निर्माणका लागि सहकार्य गर्न आह्वान गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया