सरकार ढल्ने हल्लाका बीच प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार २ सय ४० वर्षका लागि नबनेको बताएका छन् । एमालेले बिहीबार काठमाडाैंमा आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकार जान्छ–जान्छ भनेर भनिँदै छ । यो तानाशाही होइन । लोकतन्त्रमा पाँच वर्षका लागि सरकार बन्छ । यहाँ १ सय ४ वर्षका लागि २ सय ४० वर्षका लागि सरकार बनेको होइन । अब हामीले चुनावको तयारी गर्नुपर्छ । सरकार बचाऊ, बचाऊ भनेर एमालेले भनेको छैन । ढुक्कले मिसन २०८४ मा लाग्नुहोस् । सरकार चलाउने, बनाउने, टिकाउने सकेसम्मका प्रयास एमालेले गर्छ । तर, मिसन २०८४ का लागि ध्यान दिनुहोस् ।’
कांग्रेस र एमाले मिलेर बनेको सरकार स्थायित्वका लागि बनेको पनि ओलीले बताए । उनले सरकार बनाउनका लागि मात्र गठबन्धन नभएको दाबी गरे । कार्यक्रममा ओलीले ११ वैशाखलाई खुसीको दिनका रूपमा मनाउनुपर्ने बताए । उनले भने, ‘शान्तिपूर्ण आन्दोलनबाट राजा हराएको दिन । युवाहरूको चाड । यो खुसी सबै नेपालीसँग शेयर गर्न चाहन्छु ।’
उनले राजाको पालामा नेपाली जनताले अधिकारविहीन भएर बस्नुपरेको बताए । उनले भने, ‘२४० वर्ष राजा र १०४ वर्ष राणाले शासन गरे । अधिकारविहीन भएर बस्नुपर्यो । विकासका सम्भावनाका ढोका बन्द भए । विकास राजामहाराजाको भयो । हामीले लोकतन्त्र ल्याएपछि राजशाहीले पटकपटक अधिकार खोसे । हामीले अधिकारका लागि त्याग तपस्या गर्याैँ, जेलनेल भोग्यौँ ।’
देशलाई युवाहरूले अगाडि बढाउनुपर्ने र अब कुल घरानाका आधारमा पाखण्डी सिद्धान्तका आधारमा शासन गर्न नपाउने बताए । उनले भने, ‘अहिले पनि कताकता आवाज सुनिँदै छ, प्रतिगमनतर्फ देश लैजानेबारेमा । तर त्यो सम्भव छैन ।’
प्रतिक्रिया