logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    निर्वाचनको विकल्प छैन, नयाँ संकल्प चाहिन्छ : प्रचण्ड

    • nayapana nayapana
    • १६ पुष २०८२ बुधबार
    निर्वाचनको विकल्प छैन, नयाँ संकल्प चाहिन्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनले विद्यमान राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन्।

    बुधबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक दाहालले अहिलेको राजनीति निर्णायक मोडमा पुगेको उल्लेख गरे। उनका अनुसार अब राजनीतिक नेतृत्वले नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य समाप्त भएको स्वीकार गर्दै पन्छिने भन्ने प्रश्नको सामना गर्नुपर्ने अवस्था आएको छ।

    देश हाल विरलै देखिने गम्भीर संकटको दौरबाट गुज्रिरहेको उल्लेख गर्दै दाहालले यसको समाधान सर्वपक्षीय सहमति, साझा संकल्प र सहकार्यबाट मात्र सम्भव हुने धारणा राखे। उनले सबै राजनीतिक शक्तिहरू मिलेर अघि बढ्ने वातावरण क्रमशः बन्दै गएको बताए।

    संयोजक दाहालले देश अन्योलमा छैन भन्ने सन्देश दिन प्रधानमन्त्री सफल भएको भन्दै त्यसका लागि धन्यवाद व्यक्त गरे। उनका अनुसार अहिले जनता र राजनीतिक दलहरू निर्वाचनको कुनै विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छन्।

    विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए। निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म आर्थिक प्रगति सम्भव नहुने उनको भनाइ थियो।

    शान्ति, स्थायित्व र समृद्धि आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै संयोजक दाहालले त्यसका लागि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु र त्यसपछि बन्ने सरकारमार्फत संविधान संशोधन गर्नु नै दीर्घकालीन समाधान हुने धारणा व्यक्त गरे।



    nayapana nayapana    
  • १६ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP