logo
  • १३ श्रावण २०८३, बुधबार | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    ढोरपाटनमा पर्यटकको आकर्षण चुलियो, आन्तरिक पर्यटकको संख्यामा अभूतपूर्व वृद्धि

    • nayapana nayapana
    • १२ श्रावण २०८२ आईतवार
    ढोरपाटनमा पर्यटकको आकर्षण चुलियो, आन्तरिक पर्यटकको संख्यामा अभूतपूर्व वृद्धि

    नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा आन्तरिक पर्यटकको आकर्षण बर्सेनि चुलिँदो छ। पछिल्लो समय ढोरपाटन सिकार आरक्ष क्षेत्र केवल विदेशी सिकार पर्यटनको गन्तव्य नभएर आन्तरिक पर्यटकहरूको पदयात्रा र प्रकृति अवलोकनको रोजाइको केन्द्र बन्दै गएको छ।

    ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा ढोरपाटन घुम्न पुग्ने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा झण्डै ८ हजारले बढेर २३ हजार ६९२ पुगेको छ। तीमध्ये विदेशी पर्यटक केवल २२५ जना रहेका छन् भने बाँकी सबै आन्तरिक पर्यटक हुन्, जसले नेपालमै ढोरपाटनको सौन्दर्यप्रति चासो बढ्दै गएको संकेत गर्छ।

    ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार प्रचारप्रसार, पूर्वाधार विस्तार, होटल तथा घरबास व्यवस्थापन र पदयात्रा गन्तव्यहरू—जस्तै बुकी, जलजला, निशेलढोर र ढोरबराह मन्दिर—प्रति आकर्षणले गर्दा पर्यटकको चाप बढेको हो। “पछिल्लो वर्ष मात्रै प्रवेश शुल्कमार्फत २० लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ,” सुवेदीले बताए।

    ढोरपाटन उपत्यका समुद्री सतहदेखि दुई हजार ९०० मिटरको उचाइदेखि चार हजार मिटरमाथिको बुकीपाटनसम्म फैलिएको अनुपम भूभाग हो। यहाँ झण्डै दुई दर्जन होटल तथा सामुदायिक घरबास सञ्चालनमा छन्, जसले आन्तरिक पर्यटनलाई अझ सहज बनाएको छ। पोखराबाट सीधै प्याकेजमार्फत ढोरपाटन लैजाने प्रवन्धले समेत पर्यटकलाई थप प्रोत्साहन दिएको छ।

    पूर्व सिकारको पर्याय बनेको ढोरपाटन अहिले शान्ति, प्रकृति र सांस्कृतिक विविधताको अनुभव लिन चाहने हरूका लागि प्रमुख गन्तव्य बन्दैछ। ढोरपाटनको यो नयाँ रूपान्तरणले नेपालको आन्तरिक पर्यटन क्षेत्रमा एउटा नयाँ सम्भावना जन्माएको छ।



    nayapana nayapana    
  • १२ श्रावण २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP