logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    शान्ति, प्रकृति र किंवदन्तीको संगम: घुम्न जाऔं लामपोखरी

    • nayapana nayapana
    • २२ श्रावण २०८२ बुधबार
    शान्ति, प्रकृति र किंवदन्तीको संगम: घुम्न जाऔं लामपोखरी

    मिक्वाखो गाउँपालिका–५ को लोदेन फाँटस्थित लामपोखरी अहिले पर्यटकको आगमन पर्खिरहेको छ। हरियाली डाँडाबीच अण्डाकार आकारमा फैलिएको यो पोखरी क्षेत्रको एक प्रमुख प्राकृतिक र सांस्कृतिक आकर्षण हो। स्थानीय शेर्पा समुदायमा ‘छोनासिङ पोखरी’ नामले चिनिने लामपोखरी धार्मिक आस्थासँग जोडिएको पवित्र स्थल मानिन्छ।

    ताप्लेजुङ जिल्लामा पर्यटकलाई आकर्षण गर्ने अनेकौं गन्तव्य छन्—तीमध्ये हिमाल, फाँट, फूल र पोखरीले भरिएको लोदेन क्षेत्र विशेष चर्चा पाउने गन्तव्य बन्दै गएको छ। विश्वकै तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, पाथीभरा देवी मन्दिर, हरियाली फाँट र जडीबुटी क्षेत्रले ताप्लेजुङलाई प्राकृतिक सौन्दर्यको थलो बनाएको छ।

    हालसम्म लामपोखरीको वैज्ञानिक अध्ययन वा संरक्षणको पहल हुन नसकेको स्थानीय वडासदस्य तोप्ला शेर्पा बताउँछन्। शेर्पा समुदायको धर्म, संस्कार र किंवदन्तीमा आधारित यो पोखरी अझै पनि अन्वेषणको प्रतीक्षामा छ।

    जडीबुटी संकलनका लागि हरेक वर्ष लोदेन पुग्ने मिलन लिम्बूका अनुसार लामपोखरी यस क्षेत्रकै सबैभन्दा ठूलो पोखरी हो। हरियाली मैदानको बीचमा फैलिएको यो पोखरी पर्यटकका लागि लोभलाग्दो गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ।

    सिम्बुकका स्थानीय पान्दे शेर्पाका अनुसार यहाँ पुग्ने धेरै पर्यटक पोखरीको छेउमा बसेर शान्तिको अनुभूति लिन्छन्, तस्बिर खिच्छन् र प्रकृतिको संगतमा रमाउँछन्। तर, पर्यटकीय पूर्वाधारको अभावले गर्दा लामपोखरी अझै पनि आम पर्यटकको पहुँचबाट टाढा छ।

    मानव बस्ती नहुनु, खाद्य सामग्री आफैं बोक्नुपर्ने, लेक लाग्ने जस्ता समस्या यहाँको यात्रालाई चुनौतीपूर्ण बनाउँछन्। पर्यटकहरू प्रायः याक र भेडीगोठको भरमा बास बस्न बाध्य छन्। केही स्थानमा स्थानीयले आफ्ना दिवंगत आफन्तको सम्झनामा बनाएका धर्मशाला र पाटीहरू भने यात्रुहरूको लागि राहतका केन्द्र बनेका छन्।

    वडाध्यक्ष ग्यान्जे शेर्पाका अनुसार लामो समयसम्म उपेक्षित रहेको यस क्षेत्रमा पछिल्लो समय गाउँपालिकाले प्रवर्द्धनमा चासो देखाउन थालेको छ। चालु आर्थिक वर्षमा प्रचारप्रसारका लागि बजेटसमेत विनियोजन गरिएको छ।

    पर्यटन सम्भावनाले भरिएको लामपोखरी र त्यसको वरपरको लोदेन क्षेत्रले अब संरचना र योजनाको अपेक्षा गरिरहेको छ। आन्तरिक पर्यटकको चासो बढ्दै गइरहेकाले यदि उचित पूर्वाधार र प्रबन्ध मिलाइएमा यो क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बन्ने प्रबल सम्भावना बोकेको छ।



    nayapana nayapana    
  • २२ श्रावण २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP