पर्यटनको चहलपहलसँगै बागलुङको ढोरपाटनस्थित बुकीपाटन क्षेत्रका गोठालाहरूको दैनिकी र आम्दानीमा उल्लेखनीय परिवर्तन आएको छ। लामो समयसम्म भैँसी र भेडा पाल्दै परम्परागत ढंगले गुजारा गर्दै आएका गोठालाहरू अहिले आफ्नै गोठमै बसेर नगद आम्दानी गर्न थालेका छन्।
ढोरपाटन आउने पर्यटकहरूको संख्या बढेसँगै पदमार्ग हुँदै बुकीपाटन पुग्नेहरू पनि दिनानुदिन बढिरहेका छन्। पर्यटकलाई स्थानीय स्वादमा पकाइएको चिया, खीर, मोही र दही खुवाउँदै गोठालाहरूले आम्दानीको नयाँ अवसर पाएका छन्। पदयात्राको बाटोमा रहेका गोठहरूमा अब स्थानीय उत्पादनको खपत बढ्दै गएको छ।
७२ वर्षीय गोठाला देवबहादुर विक भन्छन्, “पहिला घ्यू बेच्न ढोरपाटन जानुपर्थ्यो, मोही त झन् खेर जान्थ्यो। अहिले गोठमै पर्यटक आउँछन्, खीर खाउँछन्, चिया पिउँछन्। मोहीसमेत राम्रो मूल्यमा बिक्री हुन्छ।”
बुकीपाटन उक्लँदै जाने बाटोको चेप्टेढुङ्गास्थित गोठमा गुमानसिंह कुमाईले पनि पर्यटकलाई चिया बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्। उहाँले भने, “दूधको चिया पर्यटकलाई निकै मनपर्छ। एक दिनमा सय गिलाससम्म बिक्री हुन्छ। यसपालिको सिजनमा घ्यू र दही बनाउनुपर्ने झन्झट पनि हट्यो।”
गुमानसिंहका तीन भैँसी र ६० वटा बाख्राले उत्पादन गरेको दूधबाट तयार गरिएको चियाको स्वाद पर्यटकलाई मोहक लाग्ने गरेको छ। पदयात्राको मुख्य बाटोमै पर्ने भएकाले गोठमै बसेर चिया बिक्री गरेर राम्रो आयआर्जन भइरहेको उहाँको अनुभव छ।
ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पहिले विदेशी सिकार पर्यटक मात्र आउने गरे पनि अहिले आन्तरिक पर्यटकको आकर्षणसमेत बढेको छ। निशेलढोर, ढोरबराह मन्दिर, जलजला र बुकीपाटनजस्ता क्षेत्रहरूमा पदयात्रा गर्नेहरूको संख्या बर्सेनि वृद्धि हुँदैछ।
हाल ढोरपाटन क्षेत्रमा वार्षिक करिब ८ हजार पर्यटक पुग्ने गरेका छन्। यसले गर्दा स्थानीयहरू घोडा सफारी, घरबास तथा गोठमै बस्न चाहने पर्यटकलाई सेवा दिँदै आम्दानी गर्न थालेका छन्।
स्थानीय उत्पादनको माग बढ्दै जाँदा दूध, घ्यू, दही र मासु जस्ता वस्तु बजारमा लैजानै नपर्ने अवस्था सिर्जना भएको छ। पर्यटक आफैं गोठमै पुगेर स्थानीय स्वादको आनन्द लिन थालेका छन्।
प्रतिक्रिया