काठमाडौंको मध्य बानेश्वरस्थित मितेरी मार्गमा रहेको ‘क्याट क्याफे नेपाल’ पछिल्लो समय युवादेखि परिवारसम्म सबैको प्रिय भेटस्थान बनेको छ। यहाँ आउने जो कोही पनि बिरालासँग समय बिताउँदै रमाउँछन्, हाँस्छन् र तनावबाट मुक्त भएर फर्किन्छन्।
यो अद्वितीय अवधारणाको सुरुआत आकृति श्रेष्ठले गरेकी हुन्। सानैदेखि बिरालाप्रेमी रहेकी आकृति विदेश अध्ययनको क्रममा क्याट क्याफे संस्कृति देखेर नेपालमा पनि यस्तो अनुभव दिने ठाउँ आवश्यक छ भन्ने सोचमा पुगिन्। २०७९ सालमा उनले झम्सिखेलमा नेपालकै पहिलो क्याट क्याफे सुरु गरिन्, जुन अहिले मध्य बानेश्वरमा स्थानान्तरण भएको छ। हाल यसको सञ्चालन उनका भाइ आर्यन श्रेष्ठको जिम्मामा छ, भने आकृति अष्ट्रेलियामा बसोबास गर्दै छिन्।
आर्यन भन्छन्, “नेपालमा अझै पनि धेरैले बिरालालाई अशुभ वा रोग सार्ने प्राणी ठान्छन्। हामी त्यो सोच बदल्दै मानिस र जनावरबीचको आत्मीय सम्बन्धलाई प्रोत्साहन दिन चाहन्छौँ। मानसिक शान्तिका लागि पनि यस्तो स्थान अत्यावश्यक छ।”
हाल क्याट क्याफेमा भारत र थाइल्यान्डबाट ल्याइएका १७ वटा पर्सियन जातका स्वस्थ र सफा बिरालाहरू छन्। यहाँको मुख्य आकर्षण हो—क्याट रुम। ५०० रुपैयाँ प्रवेश शुल्कमा आगन्तुकले एक खानेकुरा र एक पेय पदार्थ पाउँछन्, साथै बिरालासँग घण्टौँसम्म खेल्न, बस्न र फोटो खिच्न सक्छन्।
आर्यन मुस्कुराउँदै भन्छन्, “हाम्रो बिरालाहरू तपाईंको खाना होइन, तपाईंको साथ खोज्छन्।”
यहाँ प्रायः कलेजका विद्यार्थी, टिनएजर्स, परिवारका सदस्य र साना बालबालिका आउने गर्छन्। धेरै आगन्तुकले “तनाव घट्यो, मन हल्का भयो” भन्ने प्रतिक्रिया दिएका छन्।
तल्लो तलामा क्याट रुम छ भने माथिल्लो तलामा विभिन्न परिकार र पेय पदार्थको विकल्पसहित सामान्य रेस्टुरेन्ट सञ्चालनमा छ। क्याट क्याफे नेपालकै पहिलो भएको आर्यनको दाबी छ र निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना पनि उनले सुनाएका छन्।
आर्यनको शब्दमा, “क्याट क्याफे केवल व्यापार होइन, यो सेल्फ केयर हो। यहाँ आउनुहोस्, बस्नुहोस्, खेल्नुहोस् र महसुस गर्नुहोस्—जनावरहरूसँग बिताएको समयले तपाईंको मन कति हल्का हुन्छ।”
क्याट क्याफे बिहान ११ बजेबाट साँझ ८ बजेसम्म खुला रहन्छ भने रेस्टुरेन्ट राति १० बजेसम्म सञ्चालन हुन्छ।

प्रतिक्रिया