काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले पोखराको फेवा तालमा डुङ्गा चलाइरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा कमाइरहेको छ। सेतो भेष्टमा सजिएर रमाइलो मूडमा डुङ्गा हाँकिरहेका उनको यो तस्वीर एकै दिनमा करिब ३ लाख प्रतिक्रिया (रियाक्ट) र १३ हजारभन्दा बढी कमेन्ट बटुल्न सफल भएको छ। १६ घन्टा अघि पोष्ट गरिएको यो दृश्यमा अझै पनि लाइक र कमेन्ट बढ्ने क्रम जारी छ।
पहिलो नजरमा यो दृश्यलाई सामान्य रमाइलो क्षणका रूपमा लिन सकिन्छ। तर सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसलाई राजनीतिक अर्थ पनि जोडिरहेका छन्। फराकिलो तालको बीचमा सानो डुङ्गा हाँकिरहेका बालेनलाई कतिपयले नेपालजस्तो अस्थिर राजनीतिक यात्रामा पुराना शक्तिहरूसँग टक्कर दिँदै नयाँ बाटो खोजिरहेको व्यक्तित्वसँग तुलना गरेका छन्।
उनको पोस्टमा आएका प्रतिक्रिया निकै अर्थपूर्ण देखिन्छन्। कसैले डुब्न लागेको देशलाई डुङ्गा जस्तै दिशा दिनुपर्ने सुझाव दिएका छन् भने कतिपयले नयाँ पुस्ताले एउटै डुङ्गामा बसेर नयाँ भविष्य निर्माण गर्नुपर्ने टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ता प्रमेन्द्र थापाले लेखेका छन्, “देश डुब्न लागेको छ, नयाँ सोच बोकेकाहरूलाई साथ लिएर अगाडि बढ्नुस्, आँधी आउनुअघि किनारमा पुग्नु जरुरी छ।”
यस्तै अर्को प्रयोगकर्ता विमल कटुवाल लेख्छन्, “फेवा तालमा रमाइरहेका बालेन साहको दृश्य सामान्य रमाइलो मात्र नभई नयाँ पुस्ताको राजनीतिमा नयाँ खाँचो र नयाँ आशाको प्रतिविम्ब बनेर प्रस्तुत भएको देखिएको छ। आशाको यो डुङ्गा कहिल्यै नडुबोस्।”
यसरी, एक साधारण रमाइलो क्षणलाई लिएर गरिएको सामाजिक व्याख्याले बालेनलाई केवल काठमाडौंको सीमित दायरामा नभई राष्ट्रिय राजनीति र नयाँ पुस्ताको नेतृत्वसँग पनि प्रत्यक्षरूपमा जोडेको देखिन्छ। उनका हरेक कदम र दृश्यहरू अब केवल व्यक्तिगत मनोरञ्जन मात्र नभई प्रतीकात्मक अर्थ बोकेर सार्वजनिक विमर्शको केन्द्र बन्दै गएका छन्।
प्रतिक्रिया