लिपुलेकलाई व्यापारिक नाका बनाउने नाममा नेपाली भूमि अतिक्रमण गर्ने भारत र चीनको हस्तक्षेपकारी षड्यन्त्रविरुद्ध अनेरास्ववियू (क्रान्तिकारी) निकट पशुपति बहुमुखी क्याम्पस इकाई कमिटीको आयोजनामा सोमबार साँझ काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरिएको छ।
कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख सन्दिप पुन, सचिवद्वय सम्झना राई, युन्छु हाङ मावो लिम्बु लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
मसाल जुलुसपछि आयोजित कोणसभामा उपाध्यक्ष पुनले भारत र चीन दुवै देशको विस्तारवादी प्रवृत्तिको कडा आलोचना गर्दै भने, “भारत र चीनको विस्तारवादी प्रवृत्तिविरुद्ध डटेर लड्न म सम्पूर्ण युवा–विद्यार्थी पंक्तिलाई आह्वान गर्दछु।”
उनले अतीतमा भारतको विस्तारवादविरुद्ध अतिक्रमित भूभाग लिपुलेक, लिम्पियाधुरा पुगेर संगठनको रक्तरञ्जित झण्डा फहराइएको गौरवशाली इतिहास स्मरण गर्दै भने, “हाम्रो आन्दोलन सधैं राष्ट्रको पक्षमा उभिएको छ, र आगामी दिनमा पनि देश र जनताको हितमा अग्रपंक्तिमा रहनेछ।”
पुनले आन्दोलनलाई देशव्यापी रूपमा सशक्त बनाउँदै भारत र चीनको विस्तारवादी नीतिलाई घुँडा टेकाएरै छाड्ने दृढ प्रतिवद्धता समेत व्यक्त गरे।
कार्यक्रमका अन्य वक्ताहरूले पनि राष्ट्रिय स्वाभिमानको रक्षा गर्न आह्वान गर्दै जनस्तरबाट संघर्षलाई अझ तीव्र बनाउने धारणा राखेका थिए।


प्रतिक्रिया