-सन्दिप पुन
रुकुम (पूर्व) नेपालकाे राजनीतिक इतिहासमा ‘लाल किल्ला’ काे रूपमा अंकित छ । वामपन्थी आन्दोलनकाे उर्वरभूमि, १० वर्षे जनयुद्धकाे उद्गमस्थल र लोकतान्त्रिक गणतन्त्र स्थापनाको किला पत्थर। यो भूमिले निरङ्कुश राजतन्त्र उखेल्ने, समावेशी लोकतन्त्रको जग बसाल्ने, वर्गीय र सामाजिक मुक्ति यात्राको दिशानिर्देश दिने महत्त्वपूर्ण भूमिका खेलेको इतिहास बोकेको छ। तर आज यस्तै गौरवमय इतिहास बोकेको रुकुम (पूर्व) नै परम्परागत वामपन्थी दलहरूको सैद्धान्तिक विचलन, सत्ता केन्द्रित महत्वकांक्षा, अवसरवाद र जनजीविकाका वास्तविक मुद्दाप्रति देखिएको उदासीनताका कारण गम्भीर निराशाको मार्गतिर धकेलिँदै गएको छ।
नेपालमा विभिन्न चरणका राजनीतिक आन्दोलनदेखि १० वर्षे जनयुद्धसम्मको बलिदानी यात्राले निरङ्कुश राजतन्त्र फालेर लोकतान्त्रिक गणतन्त्र स्थापनामा ऐतिहासिक विजय प्राप्त गर्यो। यही युद्ध र आन्दोलनकै बलमा देशमा समावेशीता, धर्मनिरपेक्षता, समानुपातिकको सिद्धान्त, जातीय–लैङ्गिक विभेदको अन्त्य जस्ता संरचनात्मक परिवर्तन सम्भव भए। तर राजनीतिक परिवर्तनपछि उत्पन्न भएकै नयाँ संरचनामाथि निर्माण हुनुपर्ने समतामूलक अर्थतन्त्र, सामाजिक न्याय, सुशासन र उत्पादनमुखी विकासका स्पिरिटहरूले व्यवहारमा मूर्तरूप लिन सकेनन्।
राजनीतिक दलहरू चुनावदेखि चुनावसम्म रुमल्लिए; सत्ता प्राप्ति र सरकार गठन–भंगका खेलले वास्तविक मुद्दालाई ओझेलमा पारिदियो। जनता भने प्रत्येक चुनाव, सडक, आन्दोलन र फोरममार्फत विकल्प खोजिरहे । साविकका दलहरूलाई खबरदारी गरिरहे। यही क्रममध्ये भदौ २३ र २४ गतेको जेन–जि आन्दोलन ऐतिहासिक चेतावनीका रूपमा उदायो—रुपान्तरण, सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रश्नलाई एकपटक फेरि बलियो स्वरमा उठायो ।
यही पृष्ठभूमिले आज रुकुम (पूर्व) को राजनीतिक वृतलाई पुनः तेजिलो बनाउन नयाँ वैकल्पिक वामपन्थी राजनीतिको आवश्यकता टड्कारो रूपमा उजागर गरेको छ। परम्परागत वामपन्थी दलहरूको विचलन, वर्गीय आधारको कमजोरी, सिद्धान्त–मूल्यको क्षय, नातावाद–कृपावाद–भ्रष्टाचारको बढ्दो संस्कृतिले ‘लाल किल्ला’ को मूल ध्येय र जनयुद्धकालीन आदर्शमाथि नै प्रहार गरेको छ।
कार्ल मार्क्सले भनेका थिए—“Philosophers have only interpreted the world; the point, however, is to change it.”
(दार्शनिकहरूले संसारलाई बुझाए, तर परिवर्तन गर्ने जिम्मेवारी क्रान्तिकारीहरूकै हो।) आज यही परिवर्तनको प्रश्न फेरि रुकुमको ढोकामा खडा भएको छ।
राजनीतिक विचलन, जननिराशा र वैकल्पिक खोजको सशक्त उभार
सत्ताको लुछाचुँडीमा जकडिएका नेतृत्वहरूले जनता र मूल एजेण्डालाई बेवास्ता गरिरहँदा रुकुमका जनताले अनुभूत गरेको निराशा आज चरममा पुगेको छ। समाजवाद उन्मुख भनिने दलहरू व्यवहारमा पूँजीवादी, उपभोक्तावादी र वर्गहितविरोधी अभ्यासतर्फ धकेलिँदै गएको विडम्बना यहाँका युवा, किसान र श्रमिकले दैनिक देखिरहेका छन्।
भ्रष्टाचार, अनियमितता, अनुत्तरदायित्व र विकासका नाममा बजेट दुरुपयोगजस्ता प्रवृत्तिले इतिहासले दिएको गौरवको किल्ला नै कमजोर पारिदिएको छ। रुकुम (पूर्व) मा जनजीविका, कृषि, रोजगार, शिक्षा, स्वास्थ्यका मुद्दा दिनहुँ जटिल बन्दै गर्दा नेतृत्व सत्ताका कुर्सीमा केन्द्रित हुनु ठूलो राजनीतिक विडम्बना हो।
त्यसैका कारण शुद्ध, जनमुखी, उत्तरदायी, नैतिक र क्रान्तिकारी राजनीतिक विकल्पप्रति जनताको आकर्षण तीव्र बन्दै गएको छ।
क्रान्तिकारी चेतसहितको नयाँ वैकल्पिक वामपन्थी दिशा
रुकुम (पूर्व) को विशिष्ट भूगोल, सामाजिक–सांस्कृतिक संरचना र वर्गीय चरित्रलाई समेट्ने जनवादी, उत्पादनमा आधारित, आत्मनिर्भर र सहभागीमुलक लोकतान्त्रिक कार्यक्रम अब अत्यावश्यक छन्।
नयाँ वैकल्पिक वामपन्थी मार्गले:
चे ग्वेवाराले भनेका थिए— “The revolution is not an apple that falls when it is ripe. You have to make it fall.”
(क्रान्ति पर्खेर आउने फल होइन—लडेर सम्भव बनाइन्छ।) रुकुममा नयाँ वैकल्पिक राजनीति यही सक्रिय क्रान्तिकारी तयारीबाट जन्मनुपर्छ।
आत्मनिर्भर अर्थतन्त्र र स्थानीय उत्पादनको क्रान्तिकारी दृष्टि
रुकुम (पूर्व) को समृद्ध प्राकृतिक स्रोत–साधन, जीविकोपार्जनका परम्परागत सीप, कृषि सम्भावना र सांस्कृतिक विविधता नै यहाँको विकासको प्रमुख धरोहर हुन्।
नयाँ राजनीतिक मार्गले:
सुशासन, शिक्षा–स्वास्थ्य र पूर्वाधार विकासको नयाँ प्रतिज्ञा
राजनीतिलाई सेवा–भाव, पारदर्शिता र नैतिकतासँग जोड्ने नेतृत्व अहिलेको अनिवार्य आवश्यकता हो। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र संसाधनको प्रत्येक खर्चमा जनताको प्रत्यक्ष निगरानी सुनिश्चित गर्न सरकारले साहसिक कदम चाल्नुपर्छ।
द्वन्द्वको समयमा सृजित सामाजिक, मनोवैज्ञानिक चोटहरूमा मलम लगाउन द्वन्द्व रूपान्तरण–मेलमिलाप कार्यक्रमसमेत सञ्चालन गर्नुपर्छ।
हो–चि–मिन्हले भनेका थिए— “Nothing is more precious than independence and freedom.” (स्वतन्त्रता र आत्मनिर्भरता भन्दा बहुमूल्य केही छैन।) रुकुमका जनताको राजनीतिक स्वतन्त्रता अब आर्थिक र सामाजिक स्वतन्त्रतामा रूपान्तरण हुनुपर्छ।
प्रगतिशील शक्तिको एकता : नयाँ निकासको बाटो
आजको राष्ट्रिय अर्थतन्त्रमा सुधार, नेतृत्व संस्कार, सुशासन, बेरोजगारी र राजनीतिक विचलनको निकास प्रगतिशील शक्तिहरूको एकताबाट मात्र सम्भव छ। विभाजित वामपन्थी आन्दोलनले जनताको सपना टुटेको छ; अब एकीकृत क्रान्तिकारी दृष्टि आवश्यक छ, जुनचाहिँ विकास, न्याय, समानता र आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित होस्।
रुकुम (पूर्व) मा वैकल्पिक वामपन्थी राजनीति केवल सत्ता प्राप्तिको परियोजना होइन; यो लाल किल्लाको क्रान्तिकारी विरासत पुनर्जीवित गर्ने ऐतिहासिक अवसर हो । जनताको आत्मसम्मान, सहभागिता र भविष्य सुरक्षित गर्ने दूरदृष्टियुक्त यात्रा हो।
समाजवाद उन्मुख नेपालको स्वप्निल यात्रामा रुकुम फेरि एकपटक अग्रपंक्तिमा उभिन सक्छ ।जसका लागि यहाँको नयाँ पुस्ता वैचारिक दृढता, जनतासँगको सहकार्य र प्रगतिशील मूल्यप्रति निष्ठाबद्ध भएर अघि बढ्न पर्ने देखिन्छ ।
आज रुकुमले खोजेको विकल्प केवल सरकार परिवर्तन होइन । व्यवस्था, नेतृत्व, संस्कार र जनजीवनमै आमूल परिवर्तन ल्याउने सशक्त, नैतिक र इमानदार राजनीतिक बाटो हो। आमूल परिवर्तन मार्ग वैकल्पिक, प्रगतिशील र जनमुखी वामपन्थी शक्तिबाट मात्र सम्भव छ ।
रुकुम (पूर्व) फेरि नयाँ क्रान्तिकारी यात्राको नेतृत्व गर्न तयार छ । आवश्यक छ केवल सही दिशा, सही नेतृत्व र सही राजनीतिक स्पिरिट ।
प्रतिक्रिया