जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा शीर्ष वाम नेताहरू एउटै मञ्चमा उभिएर सहकार्य र एकताको सन्देश दिइरहेका बेला नेकपा विद्यार्थी संगठनका उपाध्यक्ष विराज थापाले भने त्यसप्रति कडा असहमति जनाएका छन्। उनले वर्तमान वाम नेतृत्वमाथि तीखो प्रहार गर्दै सम्भावित वाम एकतालाई नै “दर्दनाक दुर्घटना”को संज्ञा दिएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल एउटै मञ्चमा देखिएका थिए। उक्त मञ्चबाट वाम शक्तिबीच सहकार्य र एकताको आवश्यकता औँल्याइएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
तर, युवा नेता थापाले सामाजिक सञ्जालमार्फत शीर्ष नेतृत्वको राजनीतिक विश्वसनीयतामाथि नै प्रश्न उठाएका छन्। उनले लेखेका छन्, “क्रमभंगताको जतिसुकै लफ्फाबाजी फुलाए पनि, आजको मञ्चमा बस्ने सबै वक्ताको गफ रुचि लिएर सुन्ने र पत्याउने जमात औँलामा गन्न सकिने मात्र छन्।”
उनले वर्तमान नेतृत्वलाई अब सक्रिय राजनीतिबाट पछि हटेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। “वामपन्थी आन्दोलनलाई तपाईंहरूले दिन सक्ने सबैभन्दा ठूलो योगदान भनेको निःस्वार्थ रूपमा कार्यकारी भूमिकाबाट विदाइ लिएर सल्लाहकारको भूमिकामा सीमित हुनु हो,” उनले लेखेका छन्।
थापाको सबैभन्दा कडा टिप्पणी भने सम्भावित वाम एकतामाथि केन्द्रित छ। उनले स्पष्ट शब्दमा चेतावनी दिएका छन्, “होइन भने, तपाईंहरूको मिलन वामपन्थी आन्दोलनका लागि एउटा दर्दनाक दुर्घटना हुनेछ। चेतना भया।”
शीर्ष नेताहरूले वाम एकतालाई आन्दोलन पुनर्गठनको आधारका रूपमा प्रस्तुत गरिरहेका बेला युवा नेताको यो अभिव्यक्ति भने पुरानो नेतृत्वप्रति बढ्दो असन्तुष्टि र पुस्तान्तरणको मागको संकेतका रूपमा हेरिएको छ। वाम एकताको चर्चा चुलिरहेका बेला आएको यो टिप्पणीले कम्युनिष्ट वृत्तमा नयाँ तरंग पैदा गरेको छ।
प्रतिक्रिया