इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस (WRC) मा आठ वर्षपछि पुनः आयोजना हुन लागेको बहुप्रतीक्षित प्राविधिक महोत्सव Vector 3.0 आन्तरिक राजनीतिक विवादका कारण अन्योलमा परेको छ। विद्यार्थी प्रतिनिधि संस्था स्ववियु (स्ववियु) भित्रको असमझदारी र नेतृत्वमा देखिएको मतभेदका कारण कार्यक्रम स्थगित हुने आशंका बढ्दै गएको हो।
स्ववियु गठन नभएका कारण विगत आठ वर्षदेखि Vector कार्यक्रम स्थगित रहँदै आएको थियो। तर यसपटक नवगठित स्ववियु पश्चिमाञ्चलले Vector 3.0 आयोजना गर्ने निर्णय गर्दै विशेष तयारी थालेको थियो। सोही अनुसार, पदाधिकारीसहित दुई जना सदस्य सम्मिलित ७ सदस्यीय Vector Committee गठन गरिएको थियो।
समितिले संयोजक (Coordinator) चयनका लागि आवेदन आह्वान गर्दै अन्तर्वार्ता प्रक्रिया अघि बढाइसकेको थियो। तर स्रोतका अनुसार, स्ववियु अध्यक्षले आफ्ना प्रस्तावित उम्मेदवारलाई चयन गराउन दबाब दिएको र सो प्रयास असफल भएपछि समितिलाई नै भंग गर्ने चेतावनी दिएका छन्। यिनै विवादका कारण अन्तर्वार्ता मिति एक साता पछाडि सारिएको थियो।
यद्यपि स्ववियु सचिवको सक्रियतामा अन्तर्वार्ता सम्पन्न भइसकेको भए पनि संयोजकको नाम सार्वजनिक गर्न ढिलाइ भइरहेको छ। त्यसबीचमा विवाद थप चर्किएको छ। पछिल्लो घटनाक्रम अनुसार, अध्यक्षले आधिकारिक बैठक नगरी र ७ सदस्यीय मूल समिति तथा चारजना पदाधिकारीलाई बेवास्ता गर्दै, ९ जना सदस्यहरूलाई बोलाएर मनोमानी रूपमा संयोजक तोकेको आरोप लागेको छ।
स्ववियु पश्चिमाञ्चलका सचिव हरिकृष्ण खड्काले नेतृत्व तहमा देखिएको असहमति नै कार्यक्रम अन्योलमा जानुको मुख्य कारण भएको बताए। उनले भने, “८ वर्षपछि स्ववियु गठन भएको हो। विद्यार्थीमा ठूलो आशा जागेको छ। तर अध्यक्षको एकलौटी निर्णयप्रति गम्भीर आपत्ति छ। आधिकारिक निर्णय प्रक्रियालाई बेवास्ता गर्दै कार्यक्रमलाई व्यक्तिगत स्वार्थको बन्धक बनाउन खोजिएको छ, जुन दुर्भाग्यपूर्ण हो।”
उनले थपे, “Vector 3.0 विद्यार्थीको आवश्यकता हो, यसलाई रोक्न खोज्ने प्रयास अस्वीकार्य छ। अब कानुनी प्रक्रिया र संस्थागत निर्णयअनुसार अगाडि बढेर कार्यक्रम गरिनेछ।”
Vector कार्यक्रम पश्चिमाञ्चल क्याम्पसको प्रतिष्ठित प्राविधिक महोत्सव हो, जहाँ इन्जिनियरिङ र प्रविधिसम्बन्धी विभिन्न प्रतियोगिता, कार्यशाला तथा नवप्रवर्तन प्रदर्शनी गरिँदै आएको छ। क्याम्पसको इतिहासमै महत्वपूर्ण मानिएको यस संस्करणलाई लिएर विद्यार्थीहरूमा उच्च उत्साह छ। तर नेतृत्व तहमै देखिएको अव्यवस्था र पारदर्शिताको अभावले कार्यक्रमको भविष्य अन्योलमा परेको हो।
यदि छिट्टै समाधान निकालिएन भने, क्याम्पसको शैक्षिक वातावरण र विद्यार्थीहरूको मनोबलमा गम्भीर असर पर्न सक्ने चिन्ता अभिभावक र पूर्व विद्यार्थीहरूले पनि व्यक्त गरिरहेका छन्।
प्रतिक्रिया