logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    “फेरि पनि पार्टी विभाजनको मतियार बन्ने हो भने, जवाफ हामीले खोज्छौँ- नेतृत्वको छाँयामा होइन, बलिदानको रेखामा उभिएका छौँ”

    • nayapana nayapana
    • १६ श्रावण २०८२ बिहीबार
    “फेरि पनि पार्टी विभाजनको मतियार बन्ने हो भने, जवाफ हामीले खोज्छौँ- नेतृत्वको छाँयामा होइन, बलिदानको रेखामा उभिएका छौँ”

    नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा युवा नेता जीवन केसीले पार्टीभित्र बढ्दो अन्तरविरोध, नेतृत्वप्रति असन्तुष्टि र आगामी स्थायी समिति बैठकलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत तीव्र धारणा सार्वजनिक गरेका छन्।

    पार्टी नेतृत्वलाई कडा भाषामा चेतावनी दिँदै केसीले भनेका छन्, “पार्टीको आन्तरिक समस्यालाई समितिगत प्रणालीभित्र छलफल, बहस, आलोचना र आत्मआलोचनामार्फत समाधान गर्नुहोस्। रूपान्तरणसहितको एकताबद्ध पार्टी निर्माणका लागि नेतृत्व गम्भीर बन्नुपर्छ।”

    उनले माओवादी आन्दोलनका मूल मान्यता र मूल्यलाई जोगाउँदै पार्टीलाई सत्तामुखी होइन जनतामुखी बनाउनु आवश्यक रहेको औंल्याएका छन्। “पार्टीलाई सशक्त र जीवन्त बनाउनु छ भने वर्गीय मुद्दा र जनताको पक्षमा फर्कनुपर्छ,” केसीको भनाइ छ।

    विभाजित माओवादी धाराहरू र वामपन्थी शक्तिहरूबीच एकता कायम गर्दै राष्ट्रका जटिल समस्याहरूको निकास दिनसक्ने हैसियत बनाउनु आजको आवश्यकता रहेको उनको ठम्याइ छ। “एकता अहिलेको मूल सन्देश हो, विभाजन होइन,” उनले जोड दिएका छन्।

    आक्रोशपूर्ण शैलीमा उनले चेतावनी दिँदै भनेका छन्, “यदि विगतजस्तै नेताहरू पार्टी विभाजनको मतियार बन्ने हो भने अब त्यसको हिसाब चम्चा र झोलेहरूले होइन, हामी खोज्छौँ — जसले परिवारका सदस्य गुमाएका छौँ, अंगभंग भएका छौँ, आन्दोलनमा सबैथोक गुमाएका छौँ।”

    नेता देवत्वकरण र राक्षसीकरण दुवै प्रवृत्तिको अन्त्य गर्नुपर्ने केसीको स्पष्ट आग्रह छ। “सक्छौ भने इमानदार कार्यकर्ता बन, सक्दैनौं भने गाउँका खेतबारी बाझै छन्, त्यहीँ गएर खेतीकिसानी गर,” भन्ने उनको कठोर सन्देशले पार्टीभित्र गहिरिएको असन्तुष्टि उजागर गरेको देखिन्छ।

    केसीको धारणा आगामी स्थायी समिति बैठकमा पार्टी नेतृत्वले संगठनात्मक कमजोरी, आन्तरिक विवाद र भविष्यको मार्गचित्रबारे स्पष्ट जवाफ दिनुपर्ने दबाबस्वरूप आएको देखिन्छ।

    पार्टीभित्र यस्ता आन्तरिक आलोचनाहरू तीव्र बन्दै गइरहेका बेला स्थायी समिति बैठकले केसीजस्ता कार्यकर्ताहरूको आवाजलाई सम्बोधन गर्न सक्नेछ त? यो अबको प्रमुख राजनीतिक चासो बनेको छ।



    nayapana nayapana    
  • १६ श्रावण २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP