त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र सङ्कायका चार विभागमा शुल्क समायोजन गर्ने सहमति भएपछि ३४ दिनदेखि जारी विद्यार्थी आन्दोलन फिर्ता भएको छ।
‘चर्को शुल्क’विरुद्ध आन्दोलन गरिरहेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रि.वि. जिल्ला समिति र विश्वविद्यालय प्रशासनबीच मंगलबार भएको छलफलबाट चार बुँदे सहमति भएको हो।
सहमति अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य, र द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागमा लागू हुने शुल्क घटाएर रु. १,१०,००० कायम गरिनेछ। नयाँ दर हालकै दोस्रो सेमेस्टरदेखि लागू हुनेछ।
यससँगै विश्वविद्यालयले त्रिविको नियमअनुसार छात्रवृत्ति सुविधा सुनिश्चित गर्ने, विभागमा आवश्यक भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको छ।
छलफल त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनालको उपस्थितिमा तथा मानविकी सङ्कायका डीन प्रा. डा. दुविनन्द ढकालको रोहवरमा सम्पन्न भएको हो।
विद्यार्थी पक्षबाट ममता श्री जोशी (इन्चार्ज), प्रविण दाहाल (आन्दोलन कमान्डर), शिवराज भट्ट (कार्यवाहक अध्यक्ष), टिकेम्प चम्लागाईं ‘मनिष’ र कृष्णप्रसाद ओली (सचिव तथा आन्दोलन संयोजक) सहभागी थिए।
प्रतिक्रिया