logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ढोरपाटनमा केन्द्रीय विद्युत् पुग्दा स्थानीय हर्षित

    • nayapana nayapana
    • २९ फाल्गुन २०८२ शुक्रबार
    ढोरपाटनमा केन्द्रीय विद्युत् पुग्दा स्थानीय हर्षित

    नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पहिलो पटक केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ। भौगोलिक रूपमा अत्यन्त विकट रहेको यस क्षेत्र अहिले सम्म केन्द्रीय विद्युत् सञ्जालबाट बाहिर थियो र यहाँका बासिन्दा लघु जलविद्युत् आयोजनाको भरमा विद्युत् प्रयोग गर्दै आएका थिए।

    नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्र ले बुर्तिबाङ बजारबाट करिब ३५ किलोमिटर पश्चिमतर्फ रहेको ढोरपाटन उपत्यकासम्म ११ केभी क्षमताको विद्युत् प्रसारण लाइन विस्तार गरेको हो। वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीका अनुसार अघिल्लो वर्षदेखि पोल गाड्ने र लाइन विस्तार गर्ने काम सुरु गरिएको थियो र बिहीबारदेखि उक्त लाइनमार्फत नियमित विद्युत् प्रसारण सुरु भएको छ।

    करिब १५ करोड रुपैयाँ लागतमा सम्पन्न यस परियोजनाबाट ढोरपाटन उपत्यका र आसपासका बस्तीमा केन्द्रीय विद्युत् सेवा पुग्ने भएको छ। मरासिनीका अनुसार अब लाइन पुगेको क्षेत्रमा चरणबद्ध रूपमा घरघरमा विद्युत् जडान गर्ने तयारी भइरहेको छ। उनले भने, “पश्चिम बागलुङको बुर्तिबाङमा केन्द्रीय लाइन पुगेको केही वर्ष मात्रै भयो। त्यसभन्दा माथि अधिकारीचौरसम्म दुई वर्षअघि लाइन पुगेको थियो। यसपालि हामीले ढोरपाटनसम्म विस्तार गरेका छौँ। अब सानो हाइड्रोपावरमा निर्भर रहेका नागरिकले केन्द्रीय विद्युत् सेवा प्रयोग गर्न पाउनेछन्।”

    यसअघि ढोरपाटन क्षेत्रका बासिन्दाले ४० किलोवाट क्षमताको गर्पाखोला लघुजलविद्युत् आयोजना र ६० किलोवाट क्षमताको ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा लिँदै आएका थिए। तर उत्पादन पर्याप्त नभएकाले स्थानीयले विद्युत् अभावको समस्या भोग्दै आएका थिए।

    **ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरका अनुसार उपत्यकाका सलथान, बिजौलीखोला, छन्तुङ र खाल्डेखुल्डेलगायत क्षेत्रमा करिब २५० भन्दा बढी घरधुरीमा अहिलेसम्म विद्युत् सेवा पुगेको थिएन। “धेरै घरधुरी अझै टुकी र दियालोको भरमा रात बिताइरहेका छन्,” उनले भने, “केन्द्रीय लाइन आएसँगै अब विद्युत् विस्तारलाई प्राथमिकता दिइनेछ र कुनै पनि नागरिक विद्युत् सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहने छैन।”

    ढोरपाटनका होटल व्यवसायीहरूका लागि पनि केन्द्रीय विद्युत् सेवा ठूलो राहत हुने अपेक्षा गरिएको छ। ढोरपाटन होटल व्यवसायी सङ्घ का अध्यक्ष जीवन पुनका अनुसार स्थानीय लघुजलविद्युत्को सीमित क्षमताका कारण होटल व्यवसाय सञ्चालनमा धेरै समस्या थियो। “ढोरपाटन अत्यन्त चिसो क्षेत्र हो, यहाँ वर्षभरि हिटर चलाउनुपर्ने अवस्था हुन्छ,” उनले भने, “विद्युत् पर्याप्त नहुँदा कपडा धुने मेसिन वा अन्य उपकरण चलाउन सकिएको थिएन। अब केन्द्रीय विद्युत् आएपछि व्यवसाय सञ्चालन सहज हुने र पर्यटकले पनि राम्रो सेवा पाउनेछन्।”

    विद्युत् प्राधिकरणले छन्तुङसम्म लाइन विस्तार गरिसकेको छ। अब ढोरपाटन सिकार आरक्ष कार्यालय, नेपाली सेनाको ब्यारेक तथा स्थानीय विद्यालयहरूमा पनि केन्द्रीय विद्युत् जडान गरिने तयारी छ।

    स्थानीयवासी कुलबहादुर विकका अनुसार कमजोर क्षमताको स्थानीय हाइड्रोपावरका कारण ढोरपाटनका धेरै बस्ती अझै अन्धकारमा बस्न बाध्य थिए। उनले भने, “हामीमध्ये धेरैजसो बर्खायाममा ढोरपाटनमै बस्छौँ र हिउँदमा बेँसी झर्छौँ। बर्खाभरि अन्धकारमा बस्नुपर्ने बाध्यता थियो। अब केन्द्रीय लाइन आएपछि त्यो समस्या अन्त्य हुने आशा गरेका छौँ।”

    ढोरपाटन क्षेत्रमा पहिलो पटक केन्द्रीय विद्युत् पुगेपछि स्थानीयवासीमा उत्साह र आशा दुवै बढेको छ। अब विद्युत् विस्तारसँगै स्थानीय जीवनशैली, पर्यटन व्यवसाय र सेवा–सुविधामा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।



    nayapana nayapana    
  • २९ फाल्गुन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP