logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सौराहामा राप्ती नदीको बोटिङ आकर्षण (तस्वीरहरू)

    • nayapana nayapana
    • १६ जेष्ठ २०८३ शनिबार
    सौराहामा राप्ती नदीको बोटिङ आकर्षण (तस्वीरहरू)

    सौराहा भन्नेबित्तिकै जंगल सफारी, थारु संस्कृति र वन्यजन्तु अवलोकन सम्झिने गरिन्छ। तर पछिल्लो समय सौराहामा थपिएको ‘राप्ती नदी बोटिङ’ सेवा पर्यटकहरूको नयाँ आकर्षण बनेको छ।

    गत कात्तिकदेखि सञ्चालनमा आएको बोटिङ सेवाले सौराहाको पर्यटनमा नयाँ आयाम थपेको छ। राप्ती नदी मा सञ्चालन भइरहेको यो सेवाअन्तर्गत जिन्दगानी घाटदेखि भिमपुर घाटसम्म करिब ६ किलोमिटर दूरीमा डुङ्गा यात्रा गराइन्छ। यात्राका क्रममा पर्यटकले नदीको मनोरम दृश्यसँगै जंगल र वन्यजन्तुको अवलोकन गर्न सक्छन्।

    हाल बोटिङका लागि आठवटा डुङ्गा सञ्चालनमा छन्। प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने यस सेवाबाट केही महिनामै करिब दुई हजार पर्यटक लाभान्वित भइसकेका छन्। चितवन राष्ट्रिय निकुञ्ज ले टेन्डर आह्वान गरेपछि किनार रेष्टुरेन्ट एन्ड बारले यसको सञ्चालन जिम्मा लिएको हो।

    पर्यटन व्यवसायीहरूका अनुसार सौराहामा आउने पर्यटकको बसाइ लम्ब्याउने तथा उनीहरूलाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले बोटिङ सेवा सुरु गरिएको हो। विशेषगरी स्तरीय होटलमा बस्ने विदेशी तथा उच्चस्तरीय पर्यटकहरू बोटिङप्रति आकर्षित भएका छन्।

    राप्ती नदीको शान्त जलयात्राका क्रममा पर्यटकले एकसिङ्गे गैँडा, रोयल बंगाल बाघ, मृग, घडियाल गोहीलगायत विभिन्न वन्यजन्तु तथा सयौं प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सक्छन्। जाडोयाममा नेपाल आउने प्रवासी चराहरू पनि बोटिङको थप आकर्षण बनेका छन्।

    सन् १९८४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो। ९५२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज जैविक विविधताका दृष्टिले विश्वकै महत्त्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक मानिन्छ।

    पर्यटन व्यवसायीहरूका अनुसार बोटिङ सेवाले पर्यटकलाई नयाँ अनुभव दिनुका साथै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ। डुङ्गा चालक, पर्यटन श्रमिक, होटल व्यवसायी तथा स्थानीय समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। बोटिङबाट संकलित आम्दानीको १० प्रतिशत रकम सामुदायिक वनलाई उपलब्ध गराइने व्यवस्थाले संरक्षण र पर्यटनबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ।

    प्राकृतिक सम्पदाको संरक्षण, स्थानीय समुदायको आयआर्जन र पर्यटकलाई गुणस्तरीय अनुभव प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिएको राप्ती नदी बोटिङ सेवा सौराहाको पर्यटन क्षेत्रको नयाँ आकर्षणका रूपमा स्थापित हुँदै गएको छ।



    nayapana nayapana    
  • १६ जेष्ठ २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP