logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ढोरपाटनमा पर्यटकको भीड: होटल र होमस्टे भरिए, बासको अभाव

    • nayapana nayapana
    • १६ जेष्ठ २०८३ शनिबार
    ढोरपाटनमा पर्यटकको भीड: होटल र होमस्टे भरिए, बासको अभाव

    लगातार चार दिनको सार्वजनिक बिदाको अवसरमा ढोरपाटन उपत्यकामा पर्यटकको उल्लेख्य भीड लागेको छ। आन्तरिक पर्यटकको सङ्ख्या एक्कासि बढेपछि यहाँका होटल तथा होमस्टे भरिभराउ भएका छन् भने कतिपय पर्यटकले बासको व्यवस्था नपाएर फर्किनु परेको छ।

    ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार बिहीबारदेखि बिदा सुरु भए पनि बुधबारदेखि नै होटलहरू भरिन थालेका थिए। एकै दिन सयौँको सङ्ख्यामा पर्यटक आउँदा व्यवस्थापनमा समस्या भएको उनले बताए।

    ढोरपाटनमा हाल २७ वटा होटल र १२ वटा होमस्टे सञ्चालनमा छन्। यहाँ एक रातमा करिब ७०० जनासम्म पाहुना राख्ने क्षमता भए पनि पछिल्ला दिनमा त्यसको झन्डै दोब्बर पर्यटक आउँदा बासको समस्या भएको व्यवसायीहरू बताउँछन्।

    अध्यक्ष पुनका अनुसार गत जेठ १२ गतेदेखि नै सम्पर्क गरेर आएका पाहुनालाई प्राथमिकता दिएर राखिएको भए पनि अन्य धेरै पर्यटकले बास पाउन सकेनन्। उनका अनुसार आफ्नो सम्पर्कमा आएका मात्रै करिब एक सय पर्यटक बास नपाएर फर्किएका छन् भने अन्य व्यवसायीसँग सम्पर्कमा आएका धेरै पर्यटकले पनि त्यस्तै समस्या भोग्नुपरेको छ।

    होटल व्यवसायी शिवराज कँडेलले एकै दिन हजारभन्दा बढी पर्यटक ढोरपाटन पुगेको बताए। उनले आफ्नो होटलमा ८० जनालाई बासको व्यवस्था मिलाएको र करिब २०० जनालाई अन्य होटलतर्फ पठाउनुपरेको जानकारी दिए। उनका अनुसार पर्यटकको अत्यधिक भीडका कारण यतिबेला ढोरपाटनमा मेला लागेजस्तो वातावरण बनेको छ।

    पछिल्लो समय बुर्तिबाङ–ढोरपाटन सडक सुधार भएसँगै यहाँ पुग्न सहज बनेको छ। बुर्तिबाङ बजारबाट करिब एक घण्टामै ढोरपाटन पुग्न सकिने भएपछि पर्यटकको आकर्षण बढ्दै गएको व्यवसायीहरूको भनाइ छ।

    गुल्मीबाट १३ जनाको समूहसहित ढोरपाटन पुगेका महेश खड्काले होटल नपाएपछि बुर्तिबाङ बजारमा बस्नुपरेको बताए। तीन दिन घुम्ने योजनासहित पुगे पनि बासको समस्या भएपछि एकै दिनमै फर्किन बाध्य भएको उनको गुनासो छ।

    ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले गर्मीयाममा बेँसी क्षेत्रमा तापक्रम बढ्ने भएकाले शीतलता खोज्दै धेरै पर्यटक ढोरपाटन आउने गरेको बताए। उनले एकै पटक धेरै पर्यटक आउँदा खाना, बसोबास र अन्य व्यवस्थापनमा चुनौती थपिएको भन्दै होटल व्यवसायीसँग अग्रिम सम्पर्क गरेर मात्र ढोरपाटन भ्रमणमा आउन आग्रह गरेका छन्।



    nayapana nayapana    
  • १६ जेष्ठ २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP