logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    जनयुद्धको आधारभूमि रुकुम पूर्वमा सहिदपुत्र सन्दिपविरुद्ध प्रचण्ड

    • nayapana nayapana
    • २७ पुष २०८२ आईतवार
    जनयुद्धको आधारभूमि रुकुम पूर्वमा सहिदपुत्र सन्दिपविरुद्ध प्रचण्ड

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनयुद्धको ऐतिहासिक आधारभूमि मानिने रुकुम पूर्वबाट सहिदपुत्र सन्दिप पुनले उम्मेदवारी घोषणा गरेका छन्।

    प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट चुनाव लड्न लागेका सन्दिप, द्वन्द्वकालीन माओवादी नेता सुर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘बृक्षा’का पुत्र हुन्। सुन्दर र बृक्षाले सशस्त्र द्वन्द्वकै क्रममा सहादत प्राप्त गरेका थिए। सहिद बुबा–आमाको बलिदान र राजनीतिक विरासत बोकेर सन्दिप यसपटक संसदीय राजनीतिमा होमिएका छन्।

    यस निर्वाचनलाई अझ रोचक बनाउने अर्को पक्ष भनेको नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा सशस्त्र द्वन्द्वका तत्कालीन सर्वाेच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि रुकुम पूर्वबाट उम्मेदवारी दिने तयारीमा रहेको चर्चा हो। निर्वाचनपिच्छे फरक–फरक क्षेत्रबाट चुनाव लड्दै आएका प्रचण्डले यसपटक रुकुम पूर्व रोज्ने संकेत दिएका छन्।

    हिजो मात्रै रुकुम पश्चिममा आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्।

    यता, रिपोटर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत सन्दिप पुनले पनि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। उनले प्रतिस्पर्धी जो भए पनि आफू नडराउने स्पष्ट पारे।
    “प्रतिस्पर्धी जो भए पनि म डराउँदिनँ। म मैदानमा निस्किसकेको छु,” सन्दिपले भने।

    जनयुद्धको ऐतिहासिक केन्द्र मानिने रुकुम पूर्वमा यसपटक सहिद सन्तान र जनयुद्धका नेतृत्वबीच चुनावी प्रतिस्पर्धाले राजनीतिक वृत्तमा विशेष चासो पैदा गरेको छ।

    २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता पूर्णबहादुर घर्ती मगर १२ हजार २६२ मत प्राप्त गर्दै निर्वाचित भएका थिए। रुकुम पूर्वमा एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ।



    nayapana nayapana    
  • २७ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP