logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बादलमाथिको ‘मानुङकोट’ (फोटोफिचर)

    • nayapana nayapana
    • १८ पुष २०८१ बिहीबार
    बादलमाथिको ‘मानुङकोट’ (फोटोफिचर)

    जाडो बढेसँगै तनहुँको व्यास नगरपालिका–५, स्थित मानुङकोटमा यात्रुको भीड बढ्न थालेको छ । प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकको चापले उक्त स्थान अहिले भरिभराउ देखिन थालेको छ । पर्यटकहरु सूर्योदय र सबैतिर ढाकिएको कुहिरो हेर्न पुग्ने गर्छन् ।

    सूर्योदय र कुहिरोको मनमोहक दृश्यले छुट्टै आनन्द दिलाउने त्यहाँ पुगेका अधिकांशको अनुभव छ । त्यस्तै, डाँडामा भ्युटावर पनि बनाइएको छ । मौसम खुलेसँगै त्यहाँबाट धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रे्र्रजस्ता थुप्रै हिमाल देखिन्छन् ।

    दमौली बजार, मादी नदी, रिसिंग, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ । पौराणिक किम्बदन्तीअनुसार महर्षि वेद व्यासकी माता माछेगन्दसँग प्रेममा थिए । उनीसँगको प्रेमलीला अरुले नदेखुन् भन्ने हेतुले महर्षि परासरले कुहिरोको उत्पति गराएको कथन छ । कतिपयले मानुङकोट डाँडाबाटै कुहिरोको उत्पति भएको मान्दै आएका छन् ।

    काठमाडौँदेखि १६० किलोमीटर पश्चिम र पोखरादेखि ५५ किलोमीटर दूरीमा पर्ने मानुङकोट पुग्न तनहुँको सदरमुकाम दमौलीदेखि झण्डै १० किलोमिटर उकालो सडक प्रयोग गर्नुपर्छ । गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ । पैदलयात्रीले भने दमौलीदेखि करिब घण्टा उकालो हिँड्नुपर्छ ।

    शुक्रबार र शनिबार निकै भीड देखिने मानुङकोटमा शनिबारका दिन पाँच हजारभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।

    खानेपानीको अभावमा वि.सं. २०५२ सालतिर स्थानीयबासीले गाउँ छाडेका थिए । अहिले पनि खानेपानीको समस्या कायमै रहेपनि बजारको प्रशोधित जार र ट्याङ्करको पानीले संकट टारिरहेको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेकाहरु पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । अहिले त्यहाँ बस्न र खान प्रशस्त होटल, खाजा घर खुलिसकेका छन् ।

    तस्बिरहरु



    nayapana nayapana    
  • १८ पुष २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP