logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता घोषणा

    • nayapana nayapana
    • १५ भाद्र २०८२ आईतवार
    ‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता घोषणा

    नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले ‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयमा खुला डिजिटल वक्तृत्वकला प्रतियोगिताको घोषणा गरेको छ। आइतबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सार्वजनिक गरिएको हो।

    संगठनको पुस्तकालय तथा अभिलेख विभागको आयोजनामा हुने प्रतियोगितामा देश–विदेशमा रहेका इच्छुक नेपाली नागरिकले नेपाली भाषामा तयार गरिएको भिडियो पठाई सहभागिता जनाउन सक्नेछन्। विभागीय प्रमुख समकृति पुनका अनुसार प्रतिस्पर्धामा भाग लिन चाहनेले अधिकतम ५ मिनेट लामो भिडियो तयार गरी संगठनको इमेल annisu.r.library@gmail.com मा पठाउनु पर्नेछ। भिडियो सामग्री पठाउने अन्तिम समयसीमा भदौ १५ गते साँझदेखि भदौ ३१ गते राति १२ बजेसम्म तोकिएको छ।

    पुनले प्रतियोगिताको मूल्याङ्कन दुई आधारमा हुने जानकारी दिइन् — विषयगत मूल्याङ्कनमा ६० अंक र सामाजिक सञ्जालमा प्रसारण तथा प्रभावका आधारमा ४० अंक राखिएको छ। प्राप्त भिडियोहरू संगठनको सामाजिक सञ्जाल पेजमार्फत सार्वजनिक प्रसारण गरिनेछ।

    कार्यक्रममा बोल्दै संगठनका फ्याक्सन इन्चार्ज तथा पार्टीका युवा नेता हिमाल शर्माले पुस्तकालय विभागले अघि सारेको प्रतियोगिता इतिहासको दस्तावेजीकरणमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। उनले प्रविधिको युगमा पुस्तकालय र अभिलेख व्यवस्थापन अझ सशक्त रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए।

    संगठनका अध्यक्ष विजय प्रकाश सापकोटाले डिजिटल युगमा पनि पुस्तकालयको महत्व झनै बढेको बताउँदै यस प्रकारका रचनात्मक गतिविधिको प्रशंसा गरे। महासचिव रोशन थापामगरले संगठनले विगतमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको स्मरण गराउँदै अबका गतिविधिहरू प्रविधिमैत्री र युग सापेक्षिक हुनुपर्ने बताए।

    कार्यक्रममा उपाध्यक्ष उमेश कडेल, उपमहासचिव जटिल कार्की, निरोज श्रेष्ठ, सचिव युन्छो हाङ मावो लिम्बु, कोषाध्यक्ष फूलमाया राना लगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन केन्द्रीय सचिवालय सदस्य उद्धव रिजालले गरेका थिए।



    nayapana nayapana    
  • १५ भाद्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP