धानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका क्रममा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
प्रधानमन्त्री ओली हाल पाँच दिने चीन भ्रमणमा छन्। भ्रमणको तेस्रो दिन सोमबार थियानचिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा राष्ट्रपति पुटिनसँग करिब आधा घण्टा लामो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
भेटमा नेपाल–रुस सम्बन्ध सुदृढ पार्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। दुवै नेताबीच व्यापार, ऊर्जा, पर्यटन, शैक्षिक आदान–प्रदान, पूर्वाधारलगायत विविध क्षेत्रीय सहकार्यलाई विस्तार गर्ने विषयमा विचार–विमर्श भएको बताइएको छ।
यसअघि प्रधानमन्त्री ओलीले आइतबार भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग पनि भेटवार्ता गरेका थिए। साथै, चीन भ्रमणको क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गर्दै द्विपक्षीय हितका विषयमा चर्चा गरेका थिए।
सी जिनपिङसँगको भेटमा प्रधानमन्त्री ओलीले चीन र भारतबीच लिपुलेक क्षेत्रमा गरिएको द्विपक्षीय सम्झौता नेपालप्रति असन्तुलित भएको भन्दै नेपालको चासो स्पष्ट रूपमा व्यक्त गरेका थिए।
प्रधानमन्त्री ओलीको यो भ्रमण एससीओ शिखर सम्मेलनमा नेपालको सहभागिता सशक्त बनाउनुका साथै द्विपक्षीय तथा बहुपक्षीय कूटनीतिक सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।
प्रतिक्रिया