logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    जेहेन्दार विद्यार्थीका लागि मानव सेवा समाज रुकुमको प्रेरणादायी कदम

    • nayapana nayapana
    • २ पुष २०८२ बुधबार
    जेहेन्दार विद्यार्थीका लागि मानव सेवा समाज रुकुमको प्रेरणादायी कदम

    रुकुम पूर्व । सिस्ने गाउँपालिका–५ स्थित कोट माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामाग्री वितरण गरिएको छ। मानव सेवा समाज रुकुम पूर्वको आयोजनामा सम्पन्न कार्यक्रममा २६ जना विद्यार्थी लाभान्वित भएका छन्।

    कार्यक्रमबारे जानकारी दिँदै मानव सेवा समाज रुकुम पूर्वका सदस्य अम्मर खत्रीले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको बताए। उनका अनुसार जिल्लाभरिका आर्थिक रूपमा कमजोर तर अध्ययनमा रुचि र क्षमतायुक्त बालबालिकालाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने अभियान आजदेखि औपचारिक रूपमा सुरु गरिएको हो।

    खत्रीले यस अभियानलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पाटोका रूपमा उल्लेख गर्दै आगामी दिनमा थप विद्यालय र विद्यार्थीलाई समेट्ने योजना रहेको जानकारी पनि दिए।

    कार्यक्रममा मानव सेवा समाज रुकुम पूर्वका सदस्य तथा सिस्ने शिक्षा क्याम्पसका स्ववियु अध्यक्ष अम्मर खत्री, कोट माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलबहादुर नेपाली, प्रधानाध्यापक सरदचन्द्र समाल, शिक्षक, पत्रकारलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्ने वक्ताहरूले शैक्षिक सामाग्रीको अभावकै कारण धेरै विद्यार्थीहरू अध्ययनबाट विमुख हुने जोखिम रहेको उल्लेख गर्दै यस्ता सहयोगात्मक पहलहरू समयानुकूल र अत्यन्त आवश्यक रहेको बताए। उनीहरूले मानव सेवा समाज रुकुम पूर्वको यो पहलले विद्यार्थीहरूको मनोबल बढाउने र शैक्षिक यात्रालाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    सहभागीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक अभियानलाई निरन्तरता दिन आग्रह गर्दै स्थानीय स्तरबाट सुरु भएका यस्ता मानवीय प्रयासले समग्र समाजमा सकारात्मक सन्देश फैलाउने धारणा व्यक्त गरेका छन्।



    nayapana nayapana    
  • २ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP